२५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक दिने भएकी छन् ।
उपसभामुख कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई भनेकी छन् । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा योगदान पुग्ने उद्देश्यले यो सहयोग गरिएको उपसभामुखको सचिवालयले जनाएको छ ।
यो घोषणा त्यतिबेला सार्वजनिक भएको हो, जतिबेला बाढीपीडितलाई सहयोग गर्न प्रमुख दलका सांसदहरूले आफ्नो तलबको निश्चित रकम जम्मा गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र पठाइसकेका छन् ।
कांग्रेसका ६२ सांसदको प्रतिबद्धता
नेपाली कांग्रेसका प्रतिनिधिसभातर्फका ३८ र राष्ट्रिय सभातर्फका २४ गरी ६२ सांसदले तलबबाट बाढीपीडितलाई सहयोग गर्ने गरी रकम जम्मा गराउन संसद् सचिवालयलाई पत्र लेखेका छन् ।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । त्यस्तै पार्टीका सांसदहरू गंगालक्ष्मी अवाल, रुक्मिणी देवी कोइराला, प्रकाश सिंह कार्की र मोहन आचार्यले पनि एक-एक महिनाको तलब दिने जनाएका छन् ।
सांसद टेकबहादुर गुरुङले भने एक लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । एक महिनाको तलबले मात्र नपुग्ने भएकाले आफ्नो एक महिनाको तलबसँगै अर्को महिनाको तलबबाट पनि केही रकम कटाउन उनले भनेका छन् । बाँकी कांग्रेस सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।
एमाले र नेकपाको योगदान
नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब सहयोग गर्ने विषयमा संसद् सचिवालयलाई पत्र लेखेका छन् । एमालेका बाँकी सांसदहरूले १५ दिनको तलब दिने बताएका छन् । एमालेका प्रतिनिधिसभामा २५ र राष्ट्रिय सभामा १० जना सांसद छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने जनाएका छन् । सचिवालयलाई लेखिएको पत्रमा नेकपाले सांसदहरूसँगै उनीहरूका स्वकीयको १५ दिनको तलबसमेत सोही प्रयोजनमा दिने उल्लेख गरेको छ । नेकपाका प्रतिनिधिसभा र राष्ट्रिय सभामा १७/१७ जना सांसद रहेका छन् ।







