वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ नामक म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार व्यावसायिक परिसरभित्रका हरेक कुनामा समान र भरपर्दो वाइफाई पहुँच पुर्याउन तथा क्लाउडमार्फत सञ्जालको व्यवस्थापन गर्न सकिने गरी यो सेवा तयार पारिएको हो।
सेवा विकास गर्नुअघि कम्पनीले एसएमई सञ्चालकहरूसँग प्रत्यक्ष छलफल गरेको र विभिन्न चरणमा क्षेत्रगत परीक्षण गरेको जनाएको छ।
वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनमा प्रयोग हुने इन्टरनेट जडानमै निर्भर छन्। त्यसका कारण व्यावसायिक परिसरका केही स्थानमा वाइफाई पुग्न नसक्ने, आवश्यक बेला इन्टरनेटमा समस्या आउने र सञ्जालमा भइरहेको गतिविधिबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।
‘यस्तै समस्या समाधान गर्नका लागि बिज २४ ल्याइएको हो। यसले व्यवसायलाई बढी भरपर्दो, व्यवस्थित र व्यावसायिक तहको कनेक्टिभिटी उपलब्ध गराउँछ।’ — सतीश कृष्ण राजभण्डारी, बिक्री प्रबन्धक, वर्ल्डलिंक कम्युनिकेसन्स
कम्पनीले क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र को–वर्किङ कार्यालयजस्ता व्यवसायलाई ध्यानमा राखेर यो सेवा तयार पारेको जनाएको छ।
योजना र सञ्जाल विस्तार
बिज २४ अन्तर्गत व्यावसायिक परिसरको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताका आधारमा उपयुक्त वाइफाई सञ्जालको योजना तथा सुझाव दिइनेछ। एउटै राउटरमा मात्र निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यकता अनुसार थप उपकरण जोडी सञ्जाल विस्तार गर्न सकिने कम्पनीको भनाइ छ।
सेवामा प्राथमिकता सहयोग पनि समावेश छ। इन्टरनेट सेवामा कुनै समस्या आएमा बिज २४ ग्राहकले ०१–५९७००४० मा सम्पर्क गरी प्राथमिकताका आधारमा सहायता लिन सक्नेछन्।
तीन प्याकेज, वार्षिक शुल्क ३० हजारदेखि
बिज २४ मा ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहका प्याकेज उपलब्ध छन्। यी प्याकेजमा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति पाइने कम्पनीले जनाएको छ। सबै प्याकेजमा व्यावसायिक स्तरको राउटर, सार्वजनिक स्टाटिक आईपी र प्राथमिकता सहयोग समावेश छन्।
सेवाको वार्षिक शुल्क ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। सो शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर भने समावेश छैन।
कम्पनीका अनुसार बिज २४ नयाँ जडान गर्ने र सेवा नवीकरण गर्ने दुवै प्रकारका ग्राहकका लागि देशभर उपलब्ध हुनेछ।







