चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै शुक्रबार बिहान एक कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहान ६ बजेको समयमा बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगो लागेको थियो ।
दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मृतकको परिचय भने खुल्न सकेको छैन ।
आगलागीका कारण कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।







