त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर हलमा हरेक दिन एउटै कथा नयाँ पात्रसहित दोहोरिन्छ। छोराछोरीलाई छोड्न गएका अभिभावकले 'छिट्टै फर्किनू' भन्दै हात हल्लाउँछन्, तर त्यो 'छिट्टै' वर्षौं लामो प्रतीक्षा बन्न सक्छ। यो दृश्यले नेपाली समाजको गहिरो रूपान्तरणको संकेत गर्छ – राष्ट्रवादको परम्परागत भूगोलकेन्द्रित अवधारणा चुनौतीमा परेको छ।
राष्ट्रवादको पुरानो अवधारणा लामो समयदेखि यही मान्यतामा आधारित थियो कि राष्ट्रको केन्द्र आफ्नै भूगोलभित्र हुन्छ। तर, आज लाखौं नेपालीले सिड्नी, टोकियो, दोहा, टोरन्टो वा लन्डनबाट पनि नेपाललाई उत्तिकै गहिरोसँग अनुभूति गरिरहेका छन्। आधुनिक राष्ट्रवादको सैद्धान्तिक आधार मानिने बेनेडिक्ट एन्डरसनको 'इम्याजिन्ड कम्युनिटिज' र पार्थ चटर्जीको 'हूज इम्याजिन्ड कम्युनिटिज' जस्ता बहसले राष्ट्र 'कसले' र 'कसरी' कल्पना गर्छ भन्ने प्रश्न उठाएका थिए, तर समकालीन नेपालले अर्को प्रश्न थपेको छ – 'राष्ट्र कहाँबाट कल्पना गरिन्छ?'
सफलताको नयाँ भूगोल
गाउँका चिया पसलमा अब खेतीपाती र स्थानीय विकासभन्दा बढी चर्चा अस्ट्रेलिया, जापान, क्यानडा जानेहरूको हुन्छ। 'कुन देश जाने सोच छ?' भन्ने प्रश्नले 'के बन्ने?' भन्ने परम्परागत प्रश्नलाई विस्थापित गरेको छ। सफलताको मापदण्ड पेसाबाट सरेर गन्तव्यमा पुगेको छ। युवाहरू पहिले आफ्नो करियर निर्माण गर्न नभई भूगोल परिवर्तन गर्न तयार भइरहेका छन्; शिक्षा र सीप आफैंमा अन्तिम लक्ष्य नभएर विदेश पुग्ने माध्यम बनेका छन्।
यो परिवर्तनले नेपाली समाजमा सफलता र सामाजिक प्रतिष्ठाको संरचनालाई पुनः परिभाषित गरेको छ। विदेश पुग्नुलाई आर्थिक उपलब्धि मात्र नभई सामाजिक सफलताको प्रतीक मानिन थालेको छ। नेपालमै बस्ने निर्णय आफैं स्पष्टीकरण माग्ने विषय बनेको छ। सफलताको मापन क्रमशः योग्यता, सीप र योगदानबाट हटेर भूगोलसँग गाँसिन थालेको छ।
राज्यको पुरानो नक्सा र समाजको नयाँ यथार्थ
समाज धेरै अगाडि बढिसकेको छ, तर राज्य अझै पुरानै नक्सामा राष्ट्रवाद खोजिरहेको छ। राज्यले विदेश गएका नेपालीलाई प्रायः रेमिट्यान्स पठाउने श्रमिक वा फर्किनुपर्ने नागरिकका रूपमा मात्र हेर्छ। तर उनीहरू नेपालका नयाँ राजनीतिक, आर्थिक र सांस्कृतिक पात्र पनि हुन् – उनीहरूले विदेशबाट चुनाव नियाल्छन्, सामाजिक सञ्जालमार्फत बहसमा हस्तक्षेप गर्छन्, प्राकृतिक विपत्तिमा सहयोग जुटाउँछन् र गाउँमा विद्यालय तथा स्वास्थ्य संस्थामा लगानी गर्छन्। उनीहरू सीमापार बसेको नेपाल हुन्।
आजको मूल प्रश्न 'युवा किन विदेशिए?' होइन, बरु 'राष्ट्रले नागरिकलाई कहाँ भेट्छ – केवल सीमाभित्र, कि सीमापार पनि?' हो। राष्ट्रवादलाई केवल सिमाना र नक्साभित्र खोजेर पुग्दैन; हजारौं किलोमिटर टाढा बसेका नेपालीले अझै आफ्नो भविष्य, पहिचान र देशलाई एउटै भावनात्मक धागोले जोडिरहेका छन्। राष्ट्रवादको नयाँ ठेगाना पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।







