मुख्य सामग्रीमा जानुहोस्

बाढीमा बगेका मैलुङ हाइड्रोपावर कर्मचारी आफैँ लेदोबाट निस्किएर बाँचे, आर्मीको सहयोगमा हेलिकप्टरबाट उद्धार

नाइट ड्युटी सकेर सुतेका बेला सहकर्मीले बाढी आइरहेको खबर दिएपछि उनी भागेका थिए। बाटोभन्दा माथि पुगेका उनलाई बाढीले डुबाउँदै निकाल्दै गरेपछि होस गयो र होस आउँदा उनी पहाडको कुनामा पुगेका थिए। आफैँ लेदोबाट निस्किएर माथि…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढीमा बगेका मैलुङ हाइड्रोपावर कर्मचारी आफैँ लेदोबाट निस्किएर बाँचे, आर्मीको सहयोगमा हेलिकप्टरबाट उद्धार
Online Khabar

भदौ १० गते आएको बाढीमा बगेका मैलुङस्थित एक हाइड्रोपावरका कर्मचारीले बाढीले डुबाउँदै र निकाल्दै गरेपछि आफैँ लेदोबाट निस्किएर ज्यान जोगाएको बताएका छन्। पावर चाइनाको कम्पनीमा फर्माको काम गर्ने ती कर्मचारी हाल उपचाररत छन् र उनका घाउ अझै निको भएका छैनन्।

उनका अनुसार घटनाको दिन नाइट ड्युटी सकेर बिहान क्याम्प फर्किएपछि नास्ता खाएर उनी सुतेका थिए। क्याम्पमै ड्युटीमा खटिएका सहकर्मी कोठामा आएर बाढी आइरहेको जानकारी दिँदै भाग्न आग्रह गरेपछि आफूहरू भाग्न थालेको उनले बताए। कोठाको ढोका बन्द गरेपछि बाहिरको आवाज भित्र नसुनिने भएकाले उनले झोला बोकेरै आएर खबर गरेको ती कर्मचारीले जनाए।

बाहिर निस्केपछि अन्य सेफ्टीकर्मी पनि बाहिर आउँदै गरेको देखेको उनले सुनाए। भाग्दै उनीहरू बाटोसम्म पुगेका थिए भने उनी बाटोभन्दा अलि माथिसम्म पुगेका थिए। त्यहीँबाट बाढीले उनलाई डुबायो र कति तलसम्म बगाइलग्यो भन्ने उनलाई थाहा भएन। छालले डुबाउँदै निकाल्दै गरेपछि उनको होस गयो। होस आउँदा उनी पहाडको कुनामा पुगेका थिए।

त्यसपछि उनी आफैँ घस्रिँदै लेदोबाट बाहिर निस्किए र अर्को ठूलो बाढी आउन सक्ने डरले पहाडमा अलिअलि माथि चढे। त्यसबेला त्यहाँ कोही थिएन। उनका अनुसार माथि आर्मीहरू थिए र उनको आवाज सुनेर चार–पाँच जना आएका थिए। चिसोले काँपिरहेका उनलाई आर्मीहरूले त्यहीँ बसाल्नुका साथै हेलिकप्टर बोलाउने बताएका थिए।

धेरै बेरपछि फर्किएका आर्मीमध्ये एक जनाले उनको हात समातेर अलि तल लगी बसाले। करिब डेढ घण्टापछि हेलिकप्टर आयो र उनलाई त्यहाँबाट लगियो। कहाँ लगियो भन्ने उनलाई थाहा भएन। उनका आँखाले देख्न सक्दैनथ्यो, तर आवाज सुन्न सक्थे। शरीर र अनुहारमा हिलोमाटो थियो। शरीरमा भेस्टबाहेक लुगा थिएन र आर्मीहरूले आफ्नै झोलाबाट कट्टु निकालेर लगाइदिएका थिए।

उनका अनुसार हेलिकप्टरले त्यही दिन उद्धार गरेको थियो र अस्पताल लगेको जस्तो लाग्छ। त्यहीँ अलिअलि होस आएपछि उनले काठमाडौँ भन्ने आवाज सुने। त्यही दिन राति नै आफूलाई काठमाडौँ ल्याइएको सोध्नेहरूले बताएको उनले जनाए।

नदीबाट तानेको भन्ने दाबीबारे

नदीमा बग्दै गर्दा सशस्त्र प्रहरीका एक जनाले तानेर खोलाबाट निकालेको भन्ने चर्चा सोधिएको प्रश्नमा उनले त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। लेदोबाट निस्कने बेलासम्म त्यहाँ कोही नभएको र आफैँ त्यहाँबाट निस्किएको उनले स्पष्ट पारे।

घाउ अझै निको भएको छैन

उनका अनुसार शरीरका घाउ अझै निको भएका छैनन्। खुट्टाको घाउ ठूलो छ भने टाउको र पेटको घाउ पनि भर्न भएको छैन। पेट अझै दुख्ने गरेको उनले बताए। पहिलाभन्दा भने अलिअलि सुधार भएको छ।

अस्पतालले आजै डिस्चार्ज गर्ने बताएको तर घर कहिले जाने भन्ने आफूलाई थाहा नभएको उनले जनाए। घाउ निको नभएकाले क्याम्पमै बस्न भनिएको छ।

मैलुङ आउने–जाने गर्दा आफ्नो ठ्याक्कै एक वर्ष पुगेको उनले बताए। पोहोर साउनमा आएका उनी माघमा घर गएका थिए। त्यसपछि फेरि आएर जेठमा घर गई रोपाइँ सकेर साउनमा फर्किएका उनको त्यहाँ एक महिना मात्रै भएको थियो।