२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले खाना पकाउने ग्यासको समस्या समाधानतर्फ अघि नबढेर झनै जटिल बन्दै गएको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारी तथ्यांक र बजारको वास्तविक अवस्थाबीच ठूलो फरक रहेकोतर्फ ध्यानाकर्षण गराए।
उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ग्यास अभावबारे गरेको भनाइ आफूले तीन पटक भिडियोमा दोहोर्याएर सुनेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘ग्यासको समस्या उस्तै छ, झन् अप्ठेरो स्थितिमा गइराखेको छ।’ सचिवलगायत कर्मचारीले राम्रो नियतका साथ समाधान खोजेको पनि आफूले सुनेको तर नतिजा भने नआएको उनले बताए।
पछिल्लो समय काठमाडौं उपत्यकामा ग्यासको हाहाकार चर्किएको छ। एउटै सिलिन्डर पाउन उपभोक्ता दिनरात लाइनमा बस्न बाध्य छन्। बजारमा २ हजार ६० रुपैयाँ पर्ने ग्यासका लागि कतैकतै ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ। नेपाल आयल निगम र उद्योग मन्त्रालयले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्ने गरे पनि बजारको चित्र फरक रहेको श्रेष्ठको भनाइ छ। घण्टौं लाइन बसे पनि उपभोक्ताले सिलिन्डर पाउन सकेका छैनन्।
मन्त्रीको अभिव्यक्ति र राजीनामा
उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावका विषयमा बोलेकी थिइन्। अभावको जिम्मा उद्योगीमा लगाउँदै उद्योगीकै कारण समस्या उत्पन्न भएको र ‘पाता नकसे’सम्म पनि ग्यास अभाव सहज नहुने उनले बताएकी थिइन्। सो अभिव्यक्तिलाई विवादित मानिएको छ र उनले मन्त्री पदबाट राजीनामा दिइसकेकी छन्।
समाधानका लागि सुझाव
भारतबाट ग्यास नियमित रूपमा भित्रिरहेको तर वितरण प्रणालीमा समस्या देखिएको सांसद श्रेष्ठले बताए। समस्या समाधानका लागि उद्योगी र व्यापारीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ। उपभोक्ताले घरमा स्टक राख्न हुँदैन भन्ने पनि उनले उल्लेख गरे। यसैगरी सरकारले विद्युतीय चुलोमा छुट दिनुपर्ने आग्रह उनले गरेका छन्।







