काठमाडौं,
सनातन धर्म, आध्यात्मिक जागरण तथा सदाचारको सन्देश प्रवाह गर्ने उद्देश्यले तयार पारिएको नेपाली धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक गरिएको छ।
श्रावण महिनाको पहिलो सोमबार बिहान ६ः३० बजे बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भजनमा अमेरिका बसोबास गर्दै आएका नेपाली कलाकार प्रवेश पौडेल र राजीव शर्माको स्वर रहेको छ। गीतका शब्द नकुल ढकाल ‘नवीन’ले रचना गरेका हुन् भने संगीत तथा भाका सङ्कलन राजीव शर्माले गरेका छन्।
भजनमा वर्तमान समाजमा बढ्दो अधर्म, अनैतिकता, पाखण्ड तथा मानवीय मूल्यको ह्रासलाई विषयवस्तु बनाइएको छ। सत्य, त्रेता, द्वापर र कलियुगको सन्दर्भ प्रस्तुत गर्दै कलियुगमा बढ्दै गएको अन्याय, स्वार्थ र विकृतिको अन्त्यका लागि भगवान् विष्णुको दशौँ अवतार ‘कल्की’को प्रतीकात्मक आह्वान गरिएको छ।
गीतका शब्दमार्फत धर्मको आडमा हुने पाखण्ड, अन्याय तथा निर्दोषमाथि हुने अत्याचारप्रति प्रश्न उठाइएको छ। रावण, कौरव र कंसजस्ता दुष्ट पात्रहरूले कर्मअनुसार दण्ड पाएझैँ वर्तमान समाजमा पनि सत्य, न्याय र सदाचारको स्थापना हुनुपर्ने सन्देश भजनले दिएको निर्माण पक्षले जनाएको छ।
भजनमा बिबी अनुरागीको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियो तथा अमेरिकाको बाल्टिमोरस्थित यू एन्ड मी स्टुडियोमा कमल सौरभले गरेका हुन्।
भिडियोको निर्देशन प्रवेश पौडेलले गरेका छन् भने छायांकन पशुपति बस्याल, सम्पादन तथा रङ संयोजन सुजन कोइरालाले गरेका छन्। भिडियोमा गायकद्वयसँगै अमेरिकामा रहेका नेपाली समुदायका कलाकारहरूको अभिनय समेटिएको छ।
निर्माण पक्षका अनुसार प्रवासमा रहेर पनि नेपाली धर्म, संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भजन निर्माण गरिएको हो। भजनले समाजमा सकारात्मक सोच, नैतिक आचरण र आध्यात्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
उक्त भजन बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिने निर्माण पक्षले जनाएको छ।
साउनको पहिलो सोमबार बाबा इन्टरटेनमेन्टबाट सार्वजनिक भयो भजन ‘कल्की अवतार’ (भिडियो सहित)
श्रावण महिनाको पहिलो सोमबारकै दिनमा भगवान् शिव र सनातन धर्मप्रति समर्पित विशेष धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक भएको छ। सोमबार बिहान साढे छ बजे बाबा इन्टरटेनमेन्ट टिभी युट्युब च्यानल मार्फत यो भजन नेपाली सङ्गीत बजारमा ल्याइएको हो।
हिन्दु धर्मावलम्बीहरूका लागि साउन महिना र विशेष गरी सोमबारको दिनलाई अत्यन्तै पवित्र मानिने हुनाले यही आध्यात्मिक अवसरलाई लक्षित गर्दै यो भजन सार्वजनिक गरिएको हो। वैदेशिक रोजगारीको सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरू प्रवेश पौडेल र राजीव शर्माको सुमधुर आवाजमा सजिएको यस भजनमा नकुल ढकालका मर्मस्पर्शी शब्दहरू रहेका छन्।
यस भजनमार्फत पर्वत जिल्लाका शर्माले आधिकारिक रूपमा आफ्नो गायन यात्राको सुरुवात (डेब्यु) गरेका छन्। भजनमा आवाज दिने गायक द्वय पर्वत जिल्लाकै हुन् भने गायक शर्मा आफैँले भाका सङ्कलन गरेका छन् । नेपाली सङ्गीत क्षेत्रका प्रख्यात सङ्गीत संयोजक बिबि अनुरागीले गीतको एरेन्जमेन्ट गरेका हुन्। त्यस्तै श्याम श्वेत रसाइलीले यस भजनको मिक्सिङ गरेका हुन्।
यस भजनमा सत्य, त्रेता, द्वापर र कलियुग गरी विभिन्न युगहरूको चक्रलाई सुन्दर ढङ्गले वर्णन गरिएको छ। विशेष गरी वर्तमान कलियुगमा मानिसहरूमा बढ्दै गएको नकारात्मकता र स्वार्थलाई औँल्याउँदै यो कठिन समयबाट संसारलाई कसले र कसरी बचाउन सक्छ भन्ने सन्देशमूलक गाथा यसमा बुनिएको छ। गायक पौडेलकै निर्देशनमा तयार भएको भजनको भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अभिनय देख्न सकिन्छ।
पशुपति बस्यालले खिचेको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन्। प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र कलालाई जोगाउने उद्देश्यले निर्माण गरिएको भजनलाई नेपाली सङ्गीत प्रेमी तथा भक्तजनहरूले हेरेर र सुनेर माया गरिदिनुहुन कलाकार तथा निर्माण टिमले हार्दिक आग्रह गरेका छन्।

