सर्लाहीको बलरा नगरपालिका–५ का दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह (५५) र नागेन्द्रप्रसाद सिंह (६०) २० दिनदेखि भारतको सीतामढीस्थित डुमरा जेलमा थुनामा छन्। उनीहरू सरकारले मल उपलब्ध गराउन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट मल लिएर आउँदा पक्राउ परेका हुन्।
१७ असारमा उनीहरूले २ बोरा युरिया र ६ बोरा डीएपी साइकलमा बोकेर ल्याइरहेका थिए। भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले मल तस्करीको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेपछि उनीहरूलाई सुरुमा सोनवर्षा थानामा राखियो, त्यसपछि डुमरा जेल सारियो।
नागेन्द्रका ज्वाइँ प्रवीन सिंहका अनुसार, डुमरास्थित स्थानीय अदालतले २५ असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरणसहितका कागजात मगाएको छ। तर न्यायाधीश बिदामा हुँदा अदालती प्रक्रिया अगाडि बढ्न सकेको छैन। प्रवीनले भने, ‘अहिलेसम्म दुवै जनाको धरौटी हुन सकेको छैन। अदालती प्रक्रियाकै कारण ढिलाइ भइरहेको छ।’
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गृह मन्त्रालयलाई घटनाको जानकारी गराइसकेको र भारतीय एसएसबीसँग समन्वय भइरहेको बताए। उनले परिवारको भेटघाट र खानपानको व्यवस्था भएको पनि जानकारी दिए।
तर परिवारले सरकारको पहललाई अपर्याप्त ठहर्याएको छ। छोरा आदित्य सिंहले गाउँमा सबैको रोपाइँ सकिए पनि उनीहरूको खेत बाँझो रहेको र बुवाको रिहाइ कुरिरहेको बताए। एकातिर कमाइको मुख्य स्रोत कृषि भए पनि रोपाइँ हुन नसक्दा आर्थिक सङ्कट थपिएको छ भने अर्कातिर राज्यले पहल नगर्दा मानसिक तनाव बढेको छ।
भारतको अत्यावश्यक वस्तु ऐन र मल नियन्त्रण आदेश (एफसीओ) अनुसार मललाई अनुदानको वस्तु मानिन्छ र अनुमतिबिना निर्यात गर्न पाइँदैन। यही कानुनी व्यवस्थाका कारण भारतीय सुरक्षा निकायले नेपालतर्फ मल ओसार्न कडाइ गर्दै आएको छ। तर नेपालमा सरकारले किसानलाई आवश्यक मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती क्षेत्रका किसान बाध्य भएर भारतबाट ल्याउने गरेका छन्।
राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सरकारको लाचारी र कूटनीतिक पहलको कमीमाथि प्रश्न उठाएकी छन्। उनले गृह मन्त्रालयले औपचारिक च्यानलबाट पक्राउको कारण सोध्न र परराष्ट्र मन्त्रालयले भारतीय राजदूतसँग कुरा गर्नुपर्ने बताइन्।
स्थानीय बासिन्दा र छिमेकीहरूले पनि सिंह दाजुभाइको रिहाइका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूले यी दुईलाई तस्कर नभई विशुद्ध किसान भएकाले चाँडै छुटाउनुपर्ने बताएका छन्।
