पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएपछि नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले राष्ट्रिय भेला गर्ने भएका छन्। यो भेला १६ साउनका लागि आह्वान गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा गोकर्ण रिसोर्टमा बिहीबार बसेको नगर प्रमुखहरूको बैठकले सो निर्णय गरेको हो। बैठकमा सातै प्रदेशका करिब २० जना नगर प्रमुखहरूको सहभागिता थियो।
भेलामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई काठमाडौं बोलाइने छ। दबाब अभियानको संयोजक धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानालाई तोकिएको छ भने हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक बनाइएको छ।
दबाबको उद्देश्य
बैठकले पार्टी शीर्ष नेताहरूसँग मिल्न नसक्नुका कारणबारे शुक्रबारदेखि नै एक-एक भेटेर छलफल गर्ने र मिल्नका लागि दबाब दिने निर्णय गरेको छ। अभियानका संयोजक ढुंगानाले पार्टी एकताका लागि देशभरका जनप्रतिनिधिलाई काठमाडौं बोलाएर दबाब दिन खोजिएको बताए।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्थानीय तहमा कांग्रेसका कार्यकर्ता र शुभेच्छुक पार्टी नफुटाउने पक्षमा रहेकाले त्यसैको प्रतिनिधित्व गर्दै दबाब दिन लागिएको बताए।
तयारी र समन्वय
बैठकले भेलामा पेस गरिने विषयहरू तय गर्न सबै प्रदेशमा समन्वयात्मक बैठक गर्ने तयारी गरेको छ। निमिलेका विषयमा छलफलपछि विकल्पसहित मिलन बिन्दुको दस्तावेज सार्वजनिक गरिने कागेश्वरीका नगर प्रमुख कार्कीले बताए।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई हल खोज्ने जिम्मेवारी दिइएको छ। बैठकमा जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, कैलाली गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, कालीकोट तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्याय, दोलखा नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, हलेसी नगरपालिकाका नगर प्रमुख विमला राई, भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठी, चितवन रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटा, कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान ढंगोल, ललितपुर गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठलगायतको सहभागिता थियो। ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन भने विदेशमा रहेकाले बैठकमा सहभागी नभएको जनाइएको छ।
ढुंगानाका अनुसार बैठकले कांग्रेसबाट निर्वाचित सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई नै आयोजक बनाएको छ। पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले बोलाइने भेलामा समूहगत नभई पार्टीलाई मात्र केन्द्रमा राखेर छलफल हुने उनले स्पष्ट पारे।
