७ साउन, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरू सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। संघको विशेष भेलाबाट उक्त निर्णय सार्वजनिक गरिएको हो।
संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले वैदेशिक रोजगारको बाटो सहज नबनाए व्यवसायी र श्रमिकहरू मिलेर कडा आन्दोलन गर्ने घोषणा गरे। उनले भने, “१५ दिनभित्र अन्तिम प्रक्रियामा रहेका सबै श्रमिकहरूलाई पठाइसक्नुहोला, यदि १५ दिनभित्र निर्णायक ठाउँमा पुग्न सकिएन भने हामी कसरी र कुन तरिकाले आन्दोलन गर्ने भन्ने निर्णयमा पुग्नेछौं।”
वैदेशिक रोजगार विभागले ५९८ म्यानपावर कम्पनीलाई भारतीय विमानस्थल हुँदै अन्य मुलुकमा श्रमिक पठाएको भन्दै कारबाही गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। व्यवसायीहरूले सो कारबाही फिर्ता लिनुपर्ने र व्यवसायीप्रतिको व्यवहार सच्याउनुपर्ने माग राखेका छन्।
रणनीतिक तयारी सुरु
संघले तत्काल प्रत्यक्ष आन्दोलनमा नगए पनि रणनीतिक तयारी सुरु गर्ने बताएको छ। भोलिदेखि नै रणनीतिक कदम सुरु गरिने, सञ्चार माध्यममार्फत सरकारलाई दबाब दिइने र आवश्यकता अनुसार क्षेत्रगत समितिहरू गठन गरिने जनाइएको छ। संघले जनस्तरदेखि सदन र सरकारसम्म आफ्ना मुद्दाहरू पुर्याउने योजना बनाएको छ।
अध्यक्ष खत्रीले सरकारले व्यवसायीका माग नसुने श्रमिकहरू आफैं सडकमा उत्रिने दाबी गरे। उनले व्यवसायीहरूलाई एकजुट भएर तयारी अवस्थामा बस्न आग्रह गरे।
