१३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको खेल अद्यावधिक गर्दै बुधबार सार्वजनिक गरेको वरियताअनुसार दीपेन्द्र २५६ रेटिङ अंकसहित चौथोबाट तेस्रो स्थानमा पुगेका हुन् ।
हार्दिकको वरियता खस्कियो
दीपेन्द्रभन्दा माथि रहेका भारतीय अलराउन्डर हार्दिक पाण्ड्या तेस्रोबाट पाँचौं स्थानमा झरेका छन् । नेपाली टोलीले पछिल्लो समय टी–२०आई खेल नखेले पनि हार्दिकको वरियता खस्किएकाले दीपेन्द्र एक स्थान माथि उक्लिएका हुन् । हार्दिकले पनि हालै कुनै अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छैनन् ।
शीर्ष स्थानमा सिकन्दर राजा यथावत्
अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० रहेको छ । दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् भने तेस्रो स्थानमा दीपेन्द्र सिंह ऐरी पुगेका हुन् । वेस्ट इन्डिजका रस्टन चेज चौथो स्थानमा उक्लँदा हार्दिक पाँचौं स्थानमा झरेका छन् । दीपेन्द्रको रेटिङ अंक यथावत् २५६ नै रहेको छ ।


