नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि गत संस्करणको विजेता लुम्बिनी लायन्सले पञ्चकन्या ग्रुपसँग कन्स्ट्रक्सन पार्टनरका रूपमा व्यावसायिक सम्झौता गरेको छ । समझौताअनुसार प्रतियोगितामा लुम्बिनीका खेलाडीले लगाउने हेलमेटमा पञ्चकन्याको लोगो रहनेछ ।
सहकार्यसम्बन्धी सम्झौतामा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र पञ्चकन्या ग्रुपका निर्देशक आशिक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतासँगै पञ्चकन्या ग्रुप नेपाली क्रिकेटमा पुनः फर्किएको छ । निर्देशक श्रेष्ठका अनुसार पञ्चकन्याको आफ्नै टोली थियो र पञ्चकन्या तेजका नाममा सन् २०१४ देखि २०१६ सम्म विभिन्न फ्रेन्चाइज प्रतियोगिता खेलिएको थियो, जहाँ टोलीले उपाधि पनि जितेको थियो । अहिले लुम्बिनी लायन्ससँग आबद्ध भएर कम्पनी क्रिकेटमा फर्किएको उनले जानकारी दिए ।
‘गत वर्ष एनपीएलको उपाधि जित्ने टोली नै लुम्बिनी लायन्स हो । पञ्चकन्याको कारखाना पनि भैरहवामै छ र हाम्रो मार्ग पनि त्यही हो । एनपीएलको कुनै टोलीसँग जोडिने चाहना थियो, त्यसमा पहिलो रोजाइ लुम्बिनी बन्यो । हाम्रो कार्यालय पनि त्यहीँ छ, त्यसैले यहाँ भावना जोडिएको छ ।’ — निर्देशक आशिक श्रेष्ठ
लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत कटवालले पञ्चकन्यालाई स्वागत गर्दै यो साझेदारीले आफ्नो टोलीको एनपीएल यात्रालाई बलियो आधार दिने बताए । पञ्चकन्या नेपालका अग्रणी कम्पनीमध्ये एक भएको र यसले यसअघि नै क्रिकेटमा लगानी गरिसकेको उनको भनाइ छ । नेपाली क्रिकेटमा पुनः स्वागत गर्न पाउँदा आफूहरू खुसी रहेको र सहकार्य मजबुत हुने विश्वास उनले व्यक्त गरे ।
रोहित पौडेलको कप्तानीमा टोली
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स नेपाली राष्ट्रिय टोलीका प्रमुख ब्याटर रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिनेछ । टोलीमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी’आरी शर्ट, नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला लगायतका विदेशी खेलाडी समेत रहेका छन् ।







