काठमाडौं । उद्योगपति तथा समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयलकी आमा बिमला देवी गोयलको निधन भएको छ । उनको शुक्रबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
झापाको बुधबारे मूल घर भएकी बिमला देवी स्वर्गीय ओमप्रकाश गोयलकी पत्नी थिइन् । व्यवसाय, समाजसेवा तथा परोपकारका क्षेत्रमा योगदान पुर्याएका ओमप्रकाश गोयलको परिचय यही कामबाट बनेको थियो ।
ओमप्रकाश गोयलले नेपालको पहिलो एम्बुलेन्स दान गरेको स्मरण गरिन्छ । समाजमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई मरणोपरान्त ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरिएको थियो । सरकारले सन् २०२५ मा उनकै सम्मानमा १० रुपैयाँ मूल्यको हुलाक टिकट पनि जारी गरेको थियो ।
पारिवारिक जीवनमा बिमला देवीले श्रीमान्ले गर्दै आएका सामाजिक तथा परोपकारी काममा सहयोग गर्दै आएकी थिइन् । उनका तीन छोरा र एक छोरी छन् भने नातिनातिना तथा परिवारका अन्य सदस्य पनि रहेका छन् ।







