भदौ १० गते बिहान रसुवाको टिमुरे बजारतिर आएको बाढीले केही छिनमै नदी किनारका बस्ती बगरमा परिणत गरिदियो। बाढीको छाल पहाडको भित्तामा ठोक्किएर बजारतिर झर्दै गर्दा आँखैअगाडि घरहरू ढल्न थालेका थिए। त्यही बेला ज्यान जोगाएकाहरू जंगलतिर भागे, तर उनीहरूलाई उद्धार हुनका लागि झन्डै २५ घण्टे पर्खाइ बिताउनुपर्यो।
बाढी आउँदा सिन्धुपाल्चोकका दीपक तामाङ पनि टिमुरेमै थिए। बिहान करिब पौने १० बजेतिर जमिन थर्किएजस्तो लागेपछि उनले माटो, ढुंगा र पानीको विशाल छाल बजारतर्फ आइरहेको देखे। उनका अनुसार घरबाट बाहिर निस्किँदासम्म बाढीको छाल आइसकेको थियो र अगाडिका घरहरू लडिसकेका थिए। भाग्ने क्रममा उनी पटक-पटक लडे, सिस्नु र काँडाका झाडी समातेर पहाडको भित्ता चढ्न खोजे। तर तल बाढीको छाल र वरिपरि भागिरहेका मानिस थिए। उनलाई त्यसबेला आफ्नो ज्यान यहीँ जाने हो कि भन्ने भयो। अन्ततः उनी जसोतसो माथि पुगे र बाँच्न सफल भए।
तर आँखैअगाडि अरू मानिसहरूलाई बगाएको दृश्यले उनलाई अहिले पनि छाडेको छैन। उनका अनुसार त्यतिखेर टिमुरेमा विदेशी पर्यटक, चालक, व्यवसायी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारीसमेत थिए। बाढीले प्रहरी चौकीसमेत बगाएको उनले बताए।
ज्यान जोगाएर माथि पुगेकाहरू जंगलबीचको पुरानो काठ राख्ने टहरोमा भेला भए। करिब एक सयदेखि दुई सय जनासम्म त्यहीँ अडिए। बस्ने र सुत्ने ठाउँ नभएपछि उभिएरै दिनरात बिताउनुपर्यो। राति फेरि पानी पर्यो; टिनले छाएको साँघुरो टहरोमा गुम्सिएर बस्दा कसैलाई रिंगटा लाग्यो, कसैलाई वाकवाकी भयो। सबैको एउटै चिन्ता थियो— बिहान कहिले होला र उद्धार कहिले आउला। झन्डै २४–२५ घण्टापछि नेपाली सेनाको हेलिकप्टर आइपुग्यो र उनीहरू विदुरसम्म पुगे। तर टिमुरेमा छुटेका मानिसहरूको अवस्था के भयो भन्ने जवाफ उनीहरूसँग थिएन। दीपकका अनुसार त्यहाँ मृत्यु भएकाहरूको गन्ती गर्नसमेत नसकिने अवस्था छ।
काठमाडौंका निश्चल त्रिपाठी करिब २० दिनदेखि व्यापारका सिलसिलामा टिमुरेमै बसिरहेका थिए। त्यो बिहान उनी आफ्नो नियमित काममा थिए। अचानक सबै कुरा हल्लिएपछि बाहिर निस्कँदा उनले पानीको लेदोसहितको विशाल छाल आइरहेको देखे। उनी पाँच तलामाथि थिए; भर्याङ हुँदै दुई तलासम्म दौडिए र त्यसपछि भित्तापट्टि हाम फाले। उनका अनुसार भित्तापट्टि भएकाहरू केही बाँच्न सफल भए, तल रोडतिर भएकाहरूलाई भने बाँच्न निकै गाह्रो भयो।
बाढीपछि उनीहरू जंगलतिर लागे। कतैबाट चाउचाउ र बिस्कुट भेटिएपछि त्यही खाएर रात कटाइयो। बाख्राको गोठमा करिब डेढ सयदेखि दुई सय जना अटाए, नेपाली सेनाका सुरक्षाकर्मी पनि त्यहीँ थिए। तर निश्चललाई रातभरि आफ्नै परिवारको होइन, सम्पर्कविहीन साथीभाइ र सहकर्मीहरूको चिन्ताले सतायो। उनका भाइ र टिमका पाँचदेखि सात जना ट्रक चालकसमेत सम्पर्कविहीन छन्। उनका अनुसार टिमुरे बजारतिर एउटा–दुइटा घरबाहेक अरू कोही बाँकी छैन; भन्सारको यार्ड, सडक र खोलाबीचको दूरी सबै बाढीले मेटाइदियो। पहिले सडक र बजार थियो भन्ने नै नहुने गरी त्यहाँ अहिले बगर छ।
रसुवा भन्सार कार्यालयका लेखापाल हृदयेश न्यौपाने पनि बाढीबाट ज्यान जोगाएर फर्किनेमध्येका हुन्। दैलेखका हृदयेश त्यो बिहान साढे ७ बजे नै खोला किनारको कार्यालय पुगिसकेका थिए र सबैभन्दा तल्लो तलामा काम गरिरहेका थिए। अचानक घरहरू हल्लिए, साइरनजस्तो अनौठो आवाज आयो। गेटमा पुगेर उत्तरतिर हेर्दा उनले करिब सय मिटर उचाइसम्म लेदो, माटो र पानीका फोहोरा उछिट्टिएको देखे। उकालो नचढे बाँचिँदैन भन्ने सोचेर उनी दौडिए।
“कुनै घरको छानाका पाताबाट हिँडेको मात्रै याद छ, त्यसपछि केही याद छैन,” उनी भन्छन्। होस आउँदा उनी माथिल्लो भागमा पुगिसकेका थिए; तल हेर्दा टिमुरे बगर भइसकेको थियो। उनका अनुसार आफूहरू बाँच्नु संयोग नै थियो। बाढीको मुख्य बहाव उनीहरू बसेको ठाउँतिर नआई पारिपट्टिको भित्तामा ठोक्कियो। पारिपट्टि ५०–६० मिटरसम्म लेदो टाँसिएको थियो र ठूला सल्लाका रुखहरू समेत बगाएको थियो। त्यहाँभन्दा माथिको घट्टेखोला बजारको अवस्था झन् भयावह रहेको उनले बताए। उनीहरू डराउँदै माथि चढे, तर मौसम बिग्रिएपछि उद्धार रोकियो। पाताले छाएको संरचनामा करिब ५०–६० जना भएर रात बिताउनुपर्यो। बिहान साढे ६ बजेतिर नेपाली सेना र निजी हेलिकप्टरहरू आएपछि उद्धार सुरु भयो।
उद्धारमा सरकारको सक्रियता
भदौ १० गते बिहान आएको बाढीले रसुवा र नुवाकोटका नदी किनारका बस्ती तथा बजार पूर्ण रूपमा बगरमा परिणत गर्यो। मानिसहरूसँग सुरक्षित स्थानतिर जान सेकेण्ड पनि थिएन। माथिल्लो भाग र घरमाथि रहेकाहरूले मात्रै ज्यान जोगाएर जंगलतिर लाग्न सके। तर उद्धारका लागि गएका हेलिकप्टर अवतरण गर्न सकिने अवस्था नहुँदा सुरुका केही समय उद्धार सम्भव भएन।
सञ्चारमन्त्री डाक्टर बिक्रम तिमिल्सिना बाढी आएकै दिनदेखि नुवाकोटमा थिए। हेलिकप्टरबाट उद्धारको सम्भावना नदेखिएपछि भोलिपल्ट बिहान ६ बजेदेखि नै उद्धार अभियान सुरु भयो। नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा नेपाली सेना र विभिन्न निजी हेलिकप्टर तैनाथ गरिएको थियो। त्यहीबाट फसेकाहरू र घाइतेहरूको उद्धार तीब्र पारिएको थियो। सम्पर्कविहीन भएकाहरूका आफन्तहरू सोही सैन्य तालिम केन्द्रमा पर्खाइमा बसे; हरेक हेलिकप्टर अवतरण हुनेबेला आफ्ना मान्छे आए कि भनेर हेर्न तछाडमछाड गर्दै दौडिन्थे।
हृदयेशका अनुसार बाढी गएको करिब दुई–ढाई घण्टापछि नेपाली सेनाको हेलिकप्टरले टिमुरे बजारमै आधा गाडिएका ८–१० जनालाई उद्धार गरेको थियो। आफूहरू भने उद्धार हुने अन्तिमतिरका मानिस रहेको उनले बताए। तर तल अझै केही मानिस उद्धारको पर्खाइमा छन्।







