अछामको सदरमुकाम मंगलसेनसम्म पहिलोपटक जीप आइपुगेको ६० वर्ष पूरा भएको छ । तर, चिसापानी–जंगलघाट–मंगलसेन मार्गमा अहिलेसम्म नियमित यातायात सञ्चालन हुन सकेको छैन । २०२४ साल चैतमा पहिलोपटक त्यस मार्ग हुँदै मंगलसेनसम्म गाडी पुर्याइएको इतिहास छ । दशकौँदेखि सडक स्तरोन्नतिको चर्चा र चुनावी आश्वासन सुन्दै आएका स्थानीयवासी भने कामले कहिल्यै गति नलिएको बताउँछन् ।
जीप मंगलसेन आइपुग्दा हरिप्रसाद ढुंगानाको उमेर १७ वर्ष थियो, अहिले उनी ७६ वर्ष पुगिसकेका छन् । गाडी आइपुगेको खबर फैलिएपछि मेलापात गएकाहरूसमेत आर्मी ब्यारेक अगाडि भेला भएर ठूलो भीड लागेको उनी सम्झन्छन् । पहिलोपटक देखेको गाडीको रङ हरियोजस्तो लागे पनि यकिन नभएको उनी बताउँछन् । त्यही गाडीमा चढेर पहिलोपटक चौरमा ओहोरदोहोर गरेको सम्झना उनलाई ताजै छ । गाडी ल्याइसकेपछि अब सदरमुकामसम्म सडक बन्छ भन्ने कुरा सबैले गर्न थालेको उनले सुनाए । तर, गाडी आए पनि धेरै वर्ष हिँडेरै हाट गइरहनुपर्यो ।
त्यो बेला अछामसहित सुदूरपश्चिम र कर्णालीका केही जिल्लाका मानिस चिसापानी–जंगलघाट–मंगलसेन सडक हुँदै तराईका बजारमा हाट गर्न जान्थे । वर्षभरि जम्मा गरेको घिउ, अन्नपात र अन्य सामग्री बोकेर उनीहरू बाह्रैमास तराई आउजाउ गर्थे । फर्किंदा लत्ताकपडा, कापीकिताब र नुनलगायत घरायसी सामान किनेर फर्किन्थे । मंगलसेनबाट हाट जानेहरू पहिलो दिन कमलबजार हुँदै पुनेपाटासम्म पुगेर बास बस्थे । अर्को दिन तुर्माखाँद, जंगलघाट, साल्म, गुटु, बसन्तीकुण्टा, जामु, कुइने, केलाडीगडो हुँदै चिसापानी र बल्चौर पुगिन्थ्यो । बल्चौरबाट कटासे, टीकापुर, सत्ती र नारायणपुरतिर लाग्ने गरिन्थ्यो । अछामका लागि कटासे र राजापुरतिर मुख्य बजार थिए । हाट जानआउन कम्तीमा एक महिना लाग्ने गरेको स्थानीय बताउँछन् ।
मंगलसेनमै बस्दै आएका उदयराम सुवेदी जैसी पनि पहिलो जीप आइपुगेका साक्षी हुन् । जीप ल्याइँदा उनी २८ वर्षका थिए । अहिले उनी ८८ वर्ष पुगेका छन् । सहज भूभागमा जीप आफैँ गुडे पनि घुम्ती र अप्ठ्यारा ठाउँमा डोरीले तानेर पुर्याइएको उनी सम्झन्छन् । त्यति बेला पहाडमा गाडी देख्नु अचम्मको विषय थियो । कतिपयले गाडीलाई घाँस लगेर खुवाउने गरेको उनले सुनाए । ल्याइएको जीपको भग्नावशेष मंगलसेनको खुलामञ्चनजिक वर्षौँसम्म रहे पनि संरक्षण भने गरिएन । खेलौनाजस्तै बनेर सकिएको र गाडी ल्याएको बाटो पनि सडकमा नबदलिएको उनको गुनासो छ ।
रुसी जीप ल्याउने अभियान
जीप मंगलसेन पुर्याउन तत्कालीन जिल्ला पञ्चायत सभापति हरिप्रसाद भण्डारीको पहल थियो । श्रीबण्डाली गाउँपञ्चायतमा जन्मिएका भण्डारी भारतमा रोजगारी गरेर फर्किएपछि राजनीतिमा सक्रिय भएका थिए । २०१८ सालमा उपप्रधानपञ्च र २०२४ सालमा जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भएका उनले सडकलाई विकास र परिवर्तनको आधार मानेर अभियान थालेका थिए ।
तत्कालीन सरकारले उपलब्ध गराएको रुसी जीप कर्णाली किनारैकिनार कोल्लीमोरा हुँदै जंगलघाटबाट तारेर मंगलसेनसम्म पुर्याइएको थियो । भण्डारीकै नेतृत्वमा श्रमदान जुटाएर सडक खन्ने काम पनि भयो । गाडी आएपछि सडकको आवश्यकता महसुस हुने र निर्माणमा स्थानीय सहभागिता बढ्ने उनको विश्वास थियो । पूर्णप्रसाद नेपाल ‘यात्री’ले २०३५ सालमा प्रकाशन गरेको ‘सेती अञ्चल दिग्दर्शन’मा भण्डारीकै कार्यकालमा मंगलसेनदेखि कर्णाली किनारसम्म जनश्रमदानबाट कच्ची बाटो खनिएको उल्लेख छ । भण्डारीको निधन भने २०५२ साउन १२ मा भयो । त्यति बेला उनी ६८ वर्षका थिए । निधनपछि सडक निर्माण अभियानले निरन्तरता पाएन ।
निर्माणमा अनिश्चितता
चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्ड एक सय १० किलोमिटर छ । यसका विभिन्न खण्डमा निर्माण र स्तरोन्नतिका काम हुँदै आएका छन् । पूर्वाधार विकास कार्यालय अछामका अनुसार गैरीटाँड–कमलबजार–बाँसकाँडा खण्ड २३ किलोमिटर हो । सो खण्डका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत घोराही, दाङको पीके निर्माण सेवाले उक्त खण्डको ठेक्का पाएको छ । यो खण्डमा काम अघि बढेको देखिए पनि बाँसकाँडादेखि तुर्माखाँद हुँदै जंगलघाट र चिसापानीतर्फको सडकको अवस्था फरक छ ।
२०७६ सालमा जंगलघाट–बाँसकाँडा २५ किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो । पटकपटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन । कार्यालयका सूचना अधिकारी इन्जिनियर देवीप्रसाद ढुंगानाका अनुसार हालसम्म छ पटक म्याद थप भइसकेको छ । निर्माण कम्पनीबाट काम पूर्ण रूपमा सम्पन्न हुन नसकेको उनले बताए ।
अछाम खण्डकै अर्को महत्त्वपूर्ण संरचना जंगलघाटको पक्की पुल पनि अलपत्र छ । पुल निर्माणका लागि २०७८ साउन ८ गते लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । निर्माणका क्रममा प्रस्तावित बेतन कर्णाली जलविद्युत् आयोजनाका कारण पुल डुबानमा पर्ने सम्भावना देखिएपछि स्थान र उचाइसम्बन्धी समस्या आयो । त्यसयता पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । सुर्खेतको कुइनेमा कर्णाली नदीमाथिको पक्की पुल निर्माण भइसके पनि जंगलघाटको पुल अधुरो रहेकाले सडकमा निरन्तर यातायात सञ्चालन गर्न समस्या भइरहेको छ ।
सडक सञ्चालनको सम्भावना
कर्णाली किनारैकिनार तराईबाट अछामको पहाडसम्म जोड्ने यो सडक अहिलेको डडेलधुरा–डोटी हुँदै जाने मार्गभन्दा छोटो दूरीको विकल्प भएको तुर्माखाँद गाउँपालिका–४ का भनबहादुर बुढा बताउँछन् । उनका अनुसार सडक पूर्ण सञ्चालनमा आए अछाम, बाजुरा र कर्णाली प्रदेशका विभिन्न जिल्लाका बासिन्दाको आवागमन सहज हुनेछ । अहिले अछामका बासिन्दा तराई जानुपर्दा डडेलधुरा र डोटी हुँदै लामो यात्रा गर्न बाध्य छन् । धनगढी–अछाम सडक दूरी तीन सय किलोमिटरभन्दा लामो छ । सडक पूरा भए दूरी र यात्रा समय दुवै घट्ने अपेक्षा छ ।
कमलबजारका नरबहादुर विष्टका अनुसार सडकले कैलाली, अछाम, बाजुरा र डोटीलाई जोड्न मद्दत गर्नेछ । कर्णाली प्रदेशका विभिन्न जिल्लासँग पनि सम्पर्क विस्तार हुनेछ । कृषि उत्पादन तराईसम्म पुर्याउन, उपभोग्य सामग्रीको ढुवानी सहज बनाउन तथा स्वास्थ्य र शिक्षामा पहुँच बढाउन यसले सहयोग पुग्ने उनले बताए । यति सम्भावना बोकेको सडक ६० वर्षयता भने चर्चा र आश्वासनमै सीमित छ ।







