मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावितको पुनर्स्थापनामै सरकारको ध्यान केन्द्रित हुने : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। रसुवा र नुवाकोटलाई १/१ करोड तथा धादिङ र चितवनलाई ५०/५० लाख रुपैयाँ राहत दिने निर्णयसमेत भएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
बाढी प्रभावितको पुनर्स्थापनामै सरकारको ध्यान केन्द्रित हुने : मुख्यमन्त्री थापा मगर
eKantipur

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापनालाई सबैभन्दा माथि राखेर बागमती प्रदेश सरकारले काम अघि बढाएको छ। विकास आयोजनाका अन्य शीर्षकमा विनियोजित रकमसमेत लगाएर राहत, पुनर्निर्माण, सडक सञ्चालन, स्वास्थ्य सेवा र जनजीविकाका गतिविधि अगाडि बढाइने मुख्यमन्त्री किरण थापा मगरले बताएका छन्। मंगलबार भक्तपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रभावित जिल्लामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको स्पष्ट पारे।

प्रदेश सरकारले तत्काल राहत पुर्‍याउन रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङ र चितवनलाई ५०/५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। उद्धार, राहत वितरण, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने काममा सो रकम खर्च गरिने मुख्यमन्त्रीको भनाइ छ।

बाढीका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापन र सद्गतका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णयसमेत भएको छ। मृतकको पहिचानका लागि डीएनए परीक्षण, प्रभावितका लागि स्वास्थ्य सेवा र १६ जना मनोपरामर्शदाता परिचालन गरिएको मुख्यमन्त्री थापा मगरले जानकारी दिए।

उनका अनुसार अभिभावकविहीन भएका बालबालिकाको पढाइ रोकिन नदिन कक्षा १२ सम्म शिक्षाको व्यवस्था गरिनेछ र आवश्यकता हेरेर आवासीय विद्यालयमा राखिनेछ। आफूसँग भएको स्रोत र साधनले भ्याएसम्म प्रदेश सरकारले पीडितको साथ दिने उनले बताए।

अवरुद्ध सडक सञ्चालनका लागि नुवाकोट र रसुवा दुवैतर्फ मेसिन परिचालन गरी वैकल्पिक मार्ग बनाउने काम भइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयहरूले सो काम हेरिरहेका छन्। यसैगरी प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत रकम पठाउने निर्णय पनि भइसकेको मुख्यमन्त्रीले बताए।