मुख्य सामग्रीमा जानुहोस्

तुइन खोलाको जोखिमयुक्त डाँडाको ढिस्का भत्काउने काम जारी, सडक आंशिक बन्द

तुइन खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो नियन्त्रण गर्न व्याक ह्याम्बर प्रयोग गरी ढिस्का भत्काइँदैछ। उच्च जोखिम रहेको सो स्थानमा सवारी रोकेर काम गरिँदै छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
तुइन खोलाको जोखिमयुक्त डाँडाको ढिस्का भत्काउने काम जारी, सडक आंशिक बन्द
Nagariknetwork

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको जोखिमयुक्त डाँडाको ढिस्का हटाउने काम मंगलबार पनि जारी राखिएको छ। पहिरो नियन्त्रणको काम गर्न सवारी आवागमन आंशिक रूपमा बन्द गरिएको छ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार मंगलबार बिहान सडक रोकिएको समयमा खस्न लागेका ढिस्का झार्न थालिएको हो। सोमबार दिनभर गलको सहायताबाट काम भएको थियो। मंगलबारदेखि भने व्याक ह्याम्बरको सहायताले ढिस्का खसाल्न थालिएको छ। यसका लागि छ वटा उपकरण परिचालन गरिएका छन्। आवश्यकता अनुसार थप व्याक ह्याम्बर ल्याउन निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताए।

पहिरोका दृष्टिले अत्यन्तै जोखिमपूर्ण ठाउँमा काम भइरहेकाले प्राविधिक र मजदुरहरूले पेटीको सहायताबाट भिरमा झुन्डिएर काम गरिरहेका छन्। स्थानीय प्रशासनले सोमबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रूपमा बन्द गरेको हो। पृथ्वी राजमार्गकै कृष्णभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको समय पारेर तुइन खोलामा आंशिक सवारी रोकी काम सुरु गरिएको थियो।

बिहान ८:००–८:३०, १०:३०–११:००, दिउँसो १:००–१:३० र ३:३०–४:०० बजेसम्म सवारी आवागमन खुला रहनेछ। साँझ ६:०० बजेदेखि भोलिपल्ट बिहान ६:०० बजेसम्म पनि सवारी चल्न पाइनेछ। सो बाहेकको समयमा सवारी रोकेर पहिरो रोकथामको काम गरिनेछ।

तुइन खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो रोकथाम गर्न लागिएको हो। गत वर्ष असोज ३ र ७ गते यसै स्थानमा ठूलो पहिरो खस्दा एक सय चार घण्टासम्म सडक अवरुद्ध भएको थियो। हाल भत्काइँदै गरेको उक्त ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको छ।

केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा गत वर्ष एकाएक पहिरो खसेपछि यो क्षेत्र उच्च जोखिममा रहेको हो। अहिले भित्तामा खस्न लागेका ढुङ्गा र माटो हटाउने काम भइरहेको छ। त्यसपछि भित्तो सफा गरी रडलाई ड्रिल गरेर बाहिर जाली लगाइनेछ। यो विधिलाई नेलिङ भनिन्छ।

कार्यालयले दश महिनाभित्र काम सक्ने गरी रु २२ करोड २१ लाखमा ठेक्का आह्वान गरेको थियो। यो बजेटभित्र नाम्सी खोलाको मुग्लिनतर्फको डाँडाको पनि पहिरो रोकथाम गर्नुपर्नेछ। सडकखण्डभर मध्यमदेखि उच्च जोखिमका गरी ४३ वटा पहिरो स्थल रहेका छन्, जसमध्ये आठ वटा उच्च जोखिममा राखिएका छन्।