काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोक हुँदै पूर्वी नेपालसँग जोड्ने सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजना तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। करिब १६ किलोमिटर सडकलाई छ लेनको बनाउने लक्ष्य राखिए पनि समग्र भौतिक प्रगति ६१ प्रतिशतमा सीमित रहेको आयोजनाको विवरणले देखाउँछ। निर्माणको सुस्त गतिका कारण स्थानीयवासी, व्यापारी र सवारी यात्रुले दैनिक धुलो, हिलो तथा सवारी जामको सास्ती बेहोर्नुपरिरहेको छ।
आयोजनामा चार मुख्य लेन र दुई सर्भिस लेन रहनेछन्। सडकसँगै नाला, पैदलमार्ग, सडक सुरक्षाका संरचना, रिटेनिङ वाल र आवश्यक स्थानमा पुल तथा अन्डरपाससमेत निर्माण गर्ने सम्झौता छ। सडक विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत रु १० अर्ब ५० करोड छ भने सम्झौता रकम रु आठ अर्ब ५१ करोड रहेको छ। ३६ महिनाको मूल अवधि सकिएपछि थपिएको समयमा पनि अपेक्षाअनुसार काम अघि बढ्न नसक्नुमा बजेट अभाव, स्थलगत अवरोध र प्राविधिक समस्यालाई जिम्मेवार मानिएको छ।
दुवै खण्डको प्रगति फरक
आयोजनालाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरिएको छ। काभ्रेतर्फ पर्ने साँगा–धुलिखेल खण्डको लम्बाइ ८.३ किलोमिटर छ। यसको निर्माण जिम्मा लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको छ। २०७९ मङ्सिर २७ गते रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको उक्त खण्ड २०८३ मङ्सिर २३ गतेभित्र सक्नुपर्नेछ। यहाँ ६८ प्रतिशत भौतिक र ६३.५ प्रतिशत आर्थिक प्रगति भएको आयोजना कार्यालयको दाबी छ।
भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्ड ७.५ किलोमिटर लामो छ। बन्धन भगवती जेभीले निर्माण गरिरहेको यो खण्डको ठेक्का २०७९ पुस २४ गते रु तीन अर्ब ८८ करोड ९३ लाखमा भएको थियो। ३६ महिनाको मूल अवधि रहेको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म छ। तर यहाँ भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत मात्र पुगेको छ।
काभ्रेतर्फ साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली र रिटेनिङ वालको काम धेरैजसो सकिएको छ। मुख्य सडकमा कालोपत्र गर्ने काम भइरहेको छ। तर साँगा, जनागाल, बाँसघारी, बुडोल र बनेपा बजार आसपास रिटेनिङ वाल, पक्की नाली, सर्भिस लेन तथा पिच निर्माण सुस्त गतिमा अघि बढिरहेको छ। बनेपाको मुख्य सहरी क्षेत्रमा ढल र सर्भिस लेन तथा कालोपत्रको काम ढिलो हुँदा स्थानीय नगरवासीले सास्ती पाइरहेका छन्। स्थानीय व्यापारी मणि श्रेष्ठका अनुसार बाँकी काम पूरा नहुँदा व्यापार व्यवसायमा मन्दी आएको छ।
भक्तपुरतर्फ सूर्यविनायक–साँगा खण्डमा जग तयार गर्ने, रिटेनिङ वाल, पुल र नाली निर्माण गर्ने काम पनि सुस्त छ। साँगा भञ्ज्याङ क्षेत्रमा अन्डरपासको काम भने निरन्तर भइरहेको छ। स्थानीय जीवन श्रेष्ठले साँगामा अन्डरपास निर्माण भएपछि स्थानीय बस्तीबाट आउने–जाने सवारीसाधन तथा पैदलयात्रीलाई सहज भएको बताए।
आयोजनाअन्तर्गत जगाती, महादेव खोला र पुण्यमाता खोलामा गरी तीन स्थानमा १२ वटा पुल निर्माण गर्नुपर्नेछ। एम–एस हिमडुङ एन्ड थोकर–रामजानकी जेभीसँग यसका लागि सम्झौता भएको छ। डिजाइन एन्ड बिल्ड मोडलमा निर्माणाधीन यी पुलको भौतिक प्रगति १० प्रतिशत र आर्थिक प्रगति ३.२८ प्रतिशत छ। आयोजनाका इन्जिनियर विष्णु खनालले डिजाइन पुनरावलोकन तथा प्राविधिक विषयका कारण पुल निर्माणमा समय लागेको बताए।
बजेट तथा भुक्तानीको समस्या
बजेट अभाव निर्माण ढिलाइको अर्को प्रमुख कारण देखिएको छ। आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी अञ्जु परियारले सरकारले भुक्तानी दिन ढिलाइ गरिरहेको जानकारी दिइन्। चालु आर्थिक वर्षमा आयोजनाका लागि रु ९३ करोड १० लाख १७ हजार ७ सय १६ बजेट विनियोजन भएको छ। तीमध्ये चालुतर्फ रु दुई करोड ३२ लाख १७ हजार ७ सय १६ र पूँजीगततर्फ रु ९० करोड ८९ लाख छुट्याइएको छ। गत आर्थिक वर्षमा निर्माण व्यवसायीलाई भ्याटसहित रु एक अर्ब ७० करोड ७९ लाख २३ हजार ३ सय ७६ भुक्तानी भएको थियो।
पर्याप्त बजेट नहुँदा काम सक्ने निर्माण व्यवसायीको बिल भुक्तानीमा समस्या परेको छ। नियमित आर्थिक स्रोत अभावले सामग्री खरिद, उपकरण परिचालन र जनशक्ति व्यवस्थापन प्रभावित हुँदा निर्माणको गति झन् सुस्त भएको छ। इन्जिनियर खनालका अनुसार स्थानीय विवाद, विद्युत्का पोल, खानेपानीका पाइप र अप्टिकल फाइबर स्थानान्तरणमा ढिलाइ, साइट क्लियरेन्सको समस्या, बिटुमिन तथा इन्धनको अभाव र निर्माण सामग्रीको मूल्य वृद्धिले कामलाई असर पुर्याएको छ।
आयोजनाका अनुसार जगाती, नलिनचोक, साँगा र बनेपाका मुख्य बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने, जग्गा प्राप्ति र पुल डिजाइनका विषयले पनि सुरुआती निर्माणको गति प्रभावित बनाएको थियो। पुल निर्माणका लागि डिजाइन पुनरावलोकन गर्दा पनि थप समय खर्चिएको र थपिएको समयभित्र काम सक्न प्रयास भइरहेको इन्जिनियर खनालको भनाइ छ।
निर्माण कम्पनीले एकातिर सडक विस्तार गर्नुपर्ने र अर्कोतिर दैनिक सवारी आवागमनलाई व्यवस्थित गर्नुपर्ने अवस्था छ। सुक्खायाममा धुलो, वर्षायाममा हिलो र अव्यवस्थित डाइभर्सनका कारण आवागमन प्रभावित छ भने साँगा भञ्ज्याङ र बनेपा बजार क्षेत्रमा जामको समस्या देखिन्छ। जगातीदेखि बनेपासम्म सामान्य अवस्थामा करिब ४५ मिनेट लाग्ने दूरी पार गर्न जामका कारण बनेपाबाट काठमाडौंसम्म दुई घण्टा लाग्ने गरेको यात्रु बताउँछन्। पर्याप्त पानी नछर्किएको र नाली निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासी तथा व्यवसायीले गुनासो गर्दै आएका छन्।
सडक निर्माण र सवारी सञ्चालन एकैपटक भइरहेकाले यात्रामा सामान्य समयभन्दा बढी खर्च हुने गरेको छ। विपी राजमार्ग हुँदै सिन्धुली, महोत्तरी, बर्दिबास, उदयपुर तथा कोशी प्रदेशका जिल्लातर्फ आउने–जाने सवारीको चापसमेत यसै सडकमा पर्छ। काठमाडौं उपत्यकाको पूर्वी नाका भएकाले यहाँ दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन सञ्चालन हुन्छन्।
छ लेन सडकका दुवै किनारमा अपाङ्गता मैत्री पैदलमार्ग, पक्की नाली र सडक बत्ती जडान गर्ने योजना छ। साँगा र भैँसेपाटी क्षेत्रमा डाँडा काटिएका स्थानमा पहिरोको जोखिम कम गर्न जाली भर्ने, टेकिङ वाल निर्माण गर्ने तथा रूखबिरुवा रोप्ने काम पनि भइरहेको छ।
आयोजना कार्यालयले २०८३ पुसभित्र छ लेन सडकको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित नयाँ कार्ययोजना बनाएको छ। चालु सुक्खायामभित्र साँगा–धुलिखेल खण्डको बाँकी काम सकेर शतप्रतिशत भौतिक प्रगति पुर्याउने र सूर्यविनायक–साँगा खण्डलाई समेत तीव्रता दिने गरी निर्माण कम्पनी परिचालन गरिएको इन्जिनियर खनालको भनाइ छ। तैपनि, दुवै खण्ड र पुल निर्माणको प्रगतिमा देखिएको अन्तरले थपिएको म्यादभित्र काम सक्न चुनौती देखिएको छ।
यो आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकाको पूर्वी नाकामा सवारी चाप कम हुने, पूर्वी जिल्लाबाट राजधानीतर्फको आपूर्ति व्यवस्था सहज हुने तथा व्यापारिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ। तर निर्माण लम्बिँदा सडक प्रयोगकर्ताले हाल दैनिक जाम, धुलो र हिलोको सास्तीसँगै समय र इन्धनको थप खर्च बेहोर्नुपरिरहेको छ।







