प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेको छ। कार्यालयले मंगलबार सार्वजनिक गरेको सन्देशमा नवप्रवर्तन, प्रविधि र परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदानको तुलना गर्न नसकिने बताइएको छ।
सन्देशमा अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताका आकाङ्क्षालाई जोड्दै निष्पक्ष, पारदर्शी तथा सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अगाडि बढ्न यस दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
आज देशभर सहिद दिवस मनाइँदैछ। भदौ २३ गते भएको आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो बदलाव ल्याएको थियो। सो आन्दोलनका कारण तत्कालीन सरकार भङ्ग भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनकै क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना र सम्मानका लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।







