काठमाडौं, २७ अगस्ट। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका वा बेपत्ता रहेका विदेशी नागरिकको खोज तथा उद्धारमा समन्वय गर्न परराष्ट्र मन्त्रालयले आपत्कालीन प्रतिकार टोली गठन गरेको छ।
मन्त्रालयका अनुसार तत्काल प्रभावकारी हुने गरी गठित टोलीले विदेशी नागरिकको अवस्थाबारे सूचना पुष्टि गर्ने, खोज तथा उद्धार कार्यमा सहयोग गर्ने र आपद्बाट प्रभावित विदेशी नागरिकलाई कन्सुलर सहायता उपलब्ध गराउने छ। यो टोली यी कामका लागि केन्द्रीय समन्वय संयन्त्रका रूपमा रहने मन्त्रालयले जनाएको छ।
टोलीले घटनामा संलग्न विदेशी नागरिकको विवरण सङ्कलन गर्ने, सम्बन्धित निकायसँग सहकार्य गर्ने र प्रमाणित सूचना उनीहरूका परिवार तथा कूटनीतिक नियोगसमक्ष पुर्याउने जिम्मेवारी पाएको छ।
यसैबीच, मन्त्रालयले कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय सङ्गठन, बेपत्ता व्यक्तिका परिवार र आम नागरिकलाई रसुवाको बाढीसँग जोडिएका विदेशी नागरिकको जानकारी भए तुरुन्त सार्वजनिक गरिएका आपत्कालीन सम्पर्क माध्यममार्फत दिन आग्रह गरेको छ।
मन्त्रालयले आपत्कालीन सम्पर्कका लागि +९७७-९७४४४४१२२७ र +९७७-९७४४४४१२२८ नम्बर तोकेको छ। फोन तथा व्हाट्सएपमार्फत सम्पर्क गर्न सकिने यीमध्ये दोस्रो नम्बर बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र उपलब्ध हुनेछ। साथै, [email protected] इमेलमा पनि सूचना पठाउन सकिनेछ।
मन्त्रालयले यो आपद्बारे अप्रमाणित सूचना प्रवाह नगर्न र आधिकारिक स्रोतमा मात्र भर पर्न सबैमा अनुरोध गरेको छ। खोज तथा उद्धारका काम जारी रहेकाले स्थितिबारे आधिकारिक तथा समयसापेक्ष जानकारी नियमित रूपमा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।







