मुख्य सामग्रीमा जानुहोस्

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीमा लेदो पन्छाउने काम जारी

भोटेकोशीको बाढीले काठमाडौं–मुग्लिन सडकमा थुपारेको लेदो पन्छाएपछि पृथ्वी राजमार्ग शुक्रबार रातिदेखि एकतर्फी रूपमा खुलाइएको छ। तर, बैरेनी क्षेत्रमा अझै लेदो रहेकाले दुईतर्फी सञ्चालनका लागि केही समय कुर्नुपर्ने बताइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीमा लेदो पन्छाउने काम जारी
Online Khabar

रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीले अवरुद्ध पारेको पृथ्वी राजमार्ग शुक्रबार राति ८ बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं–मुग्लिन सडकखण्डमा पुर्याएको लेदो ठाउँठाउँबाट हटाएपछि सवारी साधनलाई एकतर्फी चलाइएको हो।

सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले बैरेनी क्षेत्रमा लेदो पूर्णरूपमा पन्छाउन बाँकी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालन नगरिएको जानकारी दिए। उनका अनुसार बाढीका कारण राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम भएको थियो।

सडकमा सवारी साधनको चाप बढी भएका स्थानमा सुरक्षाकर्मी खटाएर ट्राफिक सहजीकरण गरिएको पाण्डेले बताए। बैरेनी क्षेत्रको लेदो दुई–चार घण्टामा पन्छाउन सकिने उनले बताएका छन्। तर, सवारीसाधन चलिरहेका बेला लेदो पन्छाउने काम गर्दा असहज हुने भएकाले एकतर्फी सञ्चालनलाई निरन्तरता दिएर काम अघि बढाइने उनको भनाइ छ।

उनले दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम गर्ने योजना रहेको पनि सुनाए। फोहोर र बाढीजन्य पदार्थ हटाउने काम सकिएपछि राजमार्गलाई पूर्ण रूपमा खुलाइने बताइएको छ।