महोत्तरी, १३ भदौ। मधेशको मिथिला क्षेत्रमा साउन शुक्ल तृतीयादेखि सुरु भएको १३ दिने झुला पर्व साउन पूर्णिमाको मध्यरातपछि समापन भएको छ। पर्वसमापनसँगै यस वर्षको झुलनोत्सव पनि विधिवत् रूपमा टुंगिएको हो।
यो पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ। उनीहरूकै अवतार मानिने राम–सीता तथा राधा–कृष्णका मूर्तिलाई कलात्मक पिङ अर्थात् कोक्रामा राखेर हल्लाउने गरिन्छ। श्रद्धालुहरूले झुलाको डोरी समातेर झुला गीत गाउँदै मूर्ति झुलाउने चलन रहिआएको छ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले साउन पूर्णिमाको मध्यरात नाघेपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार मिथिलाका वैष्णव मठमन्दिरमा यो पर्व मनाउने पुरानो परम्परा हो।
झुलनोत्सवको प्रमुख केन्द्रमा जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ तथा लक्ष्मीनारायण मन्दिर परिसरको झुलाघर रहेको छ। मुख्य मठमन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा ल्याएर सामूहिक रूपमा उत्सव मनाउने चलन छ। झुलनोत्सवकै लागि निर्माण गरिएको मटिहानीको झुलाघरमा मठ तथा मन्दिरका प्रतिमा डोलीमा बोकेर ल्याई झुलाइन्छ। महन्थ वैष्णवका अनुसार यसपटक नेपाल र भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाउन मटिहानी ल्याइएको थियो।
मिथिलामा यो पर्व विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास गरिन्छ। जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले यो जानकारी दिए। त्यस्तै, रामको जन्मभूमि अयोध्या र कृष्णको बाललीलास्थल वृन्दावनको परम्पराबाट प्रभावित भएर यो पर्व मिथिलामा भित्रिएको मानिन्छ।
जनकपुरधाम सीताको माइती भएकाले मैथिल परम्पराअनुसार ज्वाइँलाई प्रसन्न राख्न साउन शुक्लपक्षका पछिल्ला १३ दिन श्रीराम र सीतालाई झुलाउने चलन रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्णले बताए।
जनकपुरधामस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर झुला पर्व सुरु गर्ने परम्परा छ। राम–सीताको विवाहका बेला राजा जनकले दाइजोमा दिएका हिरा, रत्न तथा मणिमाणिक्यको थुप्रोले बनेको पहाड नै मणिपर्वत भएको जनविश्वास छ।
साउन शुक्लपक्ष धान रोपाइँ सकिएको समय हो। किसानले मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन्। हरियो धानखेत लहलहाएको देख्दा किसान खुसी हुने भएकाले पनि यो समय उत्सव र उल्लासको मानिन्छ। यसैबीच मैथिल समुदायले आफ्ना इष्टदेव राम, कृष्ण, सीता र राधासँग खेलेको अनुभूति सँगाल्दै झुला पर्व मनाउने गरेको प्राचार्य कर्ण बताउँछन्।
मल्हार र कजरी गीतका लयमा गाउँदै र नाच्दै मनाइने यो पर्व मिथिलाको विशिष्ट लोकपरम्परा हो। पर्वभरि साधुसन्त, श्रद्धालु र स्थानीयवासीको सहभागिताले मठमन्दिर क्षेत्रमा उल्लास छाउने गर्छ। जलेश्वर–५ पतैली निवासी तथा याज्ञवल्क्य विद्यापिठ, मटिहानीका अवकाशप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव रायले यो पर्व मिथिलाको मौलिक लोकपरम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको विशिष्ट पर्व रहँदै आएको बताए।







