हेटौंडा र काठमाडौंबीच आवागमन गर्ने सवारीका लागि जिल्ला प्रशासनले एकतर्फी मार्ग व्यवस्था लागू गरेको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बढेको ट्राफिक चाप व्यवस्थापन गर्न यो व्यवस्था गरिएको हो।
नयाँ व्यवस्थाअनुसार १४ भन्दा कम यात्रु बोक्ने हल्का सवारी हेटौंडाबाट काठमाडौं आउँदा कुलेखानी हुँदै भीमफेदी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ। यस्तै, काठमाडौंबाट हेटौंडा जाँदा भने फखेल हुँदै कुलेखानी र फर्पिङ–भीमफेदी मार्ग प्रयोग गर्नुपर्ने जिल्ला प्रशासनले जनाएको छ।
हेटौंडास्थित जिल्ला प्रशासन कार्यालयका सन्तोष सुवेदीका अनुसार काठमाडौंतर्फ जाने बस तथा भारी सवारीले पृथ्वी राजमार्ग प्रयोग गर्नेछन् भने काठमाडौंबाट हेटौंडा आउने बस तथा भारी सवारीका लागि कान्ति राजमार्ग तोकिएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं मार्गमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ। नयाँ एकतर्फी मार्ग व्यवस्थाले सो चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







