मुख्य सामग्रीमा जानुहोस्

पृथ्वीराजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारी चाप, हेटौँडा–काठमाडौं यात्रा १० घन्टा

पृथ्वीराजमार्गको कृष्ण भीर खण्ड अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं जाने वैकल्पिक मार्गमा सवारी चाप बढेको छ। त्रिभुवन राजपथको साँघुरो र जीर्ण सडकका कारण यात्रीले सर्वसाधारणले १० घन्टासम्म यात्रा गर्नुपर्ने अवस्था छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
पृथ्वीराजमार्ग अवरुद्ध हुँदा त्रिभुवन राजपथमा सवारी चाप, हेटौँडा–काठमाडौं यात्रा १० घन्टा
eKantipur

पृथ्वीराजमार्गको कृष्ण भीर खण्डको सडक भाँसिएर यातायात अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं प्रवेश गर्ने बाटोमा सवारी साधनको चाप निकै बढेको छ। नेपालको पुरानो राजमार्ग मध्ये एक त्रिभुवन राजपथमा अहिले मालवाहक र यात्रुवाहक सवारीको लामो ताँती लाग्ने गरेको छ।

हेटौँडाबाट राजधानी जाने सवारी साधनलाई त्रिभुवन राजपथ, कान्तिलोकपथ र हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडक हुँदै काठमाडौं पठाउने गरिएको छ। साँघुरा मोड, उकालो बाटो र जीर्ण सडकका कारण ठूला ट्रक तथा बसहरू सहज रूपमा अघि बढ्न नसक्दा हेटौँडाबाट काठमाडौं पुग्न १० घन्टासम्म लाग्ने गरेको छ।

मालवाहक सवारीका चालक श्रीराम लामा त्रिभुवन राजपथका मोडहरू निकै साँघुरो भएकाले गाडी पछाडि सारेर मात्र मोड काट्नुपर्ने अवस्था रहेको बताउँछन्। उनका अनुसार यस सडकमा पहिलोपटक सवारी चलाउने चालकलाई बढी कठिनाइ हुन्छ भने पुराना तथा कमजोर अवस्थाका सवारी साधनले त्रिभुवन राजपथ पार गर्न नै सक्दैनन्। यस्ता गाडी बिग्रिएर सडक किनारमा रोकिने गरेको उनको भनाइ छ।

त्रिभुवन राजपथमा दिनहुँजसो दुर्घटना हुने र सवारी साधन बिग्रिने क्रम समेत देखिन्छ। यसैका कारण राजपथमा दैनिक ३ देखि ४ घण्टासम्म लामो जाम हुने गरेको छ।

वि.सं. २०१३ सालदेखि सञ्चालनमा आएको त्रिभुवन राजपथका अधिकांश मोडमा खाल्डाखुल्डी छन् र कालोपत्रे उप्किएको अवस्था छ। सवारी चापका कारण हेटौँडाबाट भैँसे पुग्न नै करिब २ घण्टा लाग्ने गरेको छ।

त्रिभुवन राजपथ भएर दैनिक ६ हजार मालवाहक र यात्रुवाहक सवारी हेटौँडाबाट राजधानीतर्फ जाने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम केसीले बताए।

यस्तै, हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडक खण्डमा दैनिक ७ हजार साना सवारी आवतजावत गर्ने गरेका छन्। कान्तिलोकपथ हुँदै दैनिक ४ हजारभन्दा बढी खाली सवारी हेटौँडा आउने गरेको छ।

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी व्यवस्थापन गरेको छ। मालवाहक ट्रक र १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउने, १४ सिटभन्दा कम क्षमताका साधनलाई भैँसे–भीमफेदी–कुलेखानी हुँदै लैजाने तथा खाली सवारीलाई कान्तिलोकपथ भएर हेटौँडा भित्र्याउने व्यवस्था गरिएको छ।