एआई नियमनको मुद्दा उठाउन पोल्याण्डको राजधानी वार्सामा रोबोटहरू नै प्रदर्शनकारी बनेका छन्। वार्सास्थित डिजिटल मामिला मन्त्रालयअगाडि सोमबार करिब ३० रोबोटले झण्डा बोकेर प्रदर्शन गरेका हुन्।
एआई र रोबोटाइजेसनले श्रम बजारमा पार्न सक्ने प्रभावबारे सार्वजनिक बहस सुरु गर्ने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको बताइएको छ। कार्यक्रमको आयोजना डेमोक्रेटिज्मले गरेको थियो। प्रदर्शनमा मानवरूपी रोबोटदेखि कुकुरजस्ता चारखुट्टे रोबोटसम्म सहभागी भएका थिए।
उक्त अवसरमा ‘कामको रक्षा गरौँ’, ‘नियम बनाउने समय भयो’ र ‘नपर्खौँ, नियमन गरौँ’ भन्ने नारा ध्वनिवर्धकमार्फत प्रसारण गरिएको थियो। एआईबाट चल्ने मानवरूपी रोबोट एजिबोट ए३ ले प्रदर्शनमा सहभागी हुनु नै प्रविधि यथार्थमा आइसकेको प्रमाण भएको टिप्पणी गरेको थियो।
आयोजक ग्र्जेगोर्ज कुलिसले मानवरूपी रोबोट र एआईको विकासले मानिसको रोजगारी विस्थापित हुनसक्ने चिन्ता व्यक्त गरे। समयमै कदम नचाले समस्या निम्तिन सक्ने भन्दै उनले कामदारको सुरक्षाका लागि स्पष्ट कानुन आवश्यक रहेको औंल्याए। रोबोटिक्स कम्पनी र रोजगार एजेन्सीको प्रमुख रहेका कुलिसले श्रम बजारसम्बन्धी परिषद्मा दुई कार्यकाल काम गरिसकेका छन्।
यस प्रदर्शनप्रति स्थानीय बटुवा र सर्वसाधारणको चासो केन्द्रित भएको थियो। आफैँ हिँडडुल गर्न सक्ने रोबोटहरूको उपस्थितिले एआई विषयको गम्भीरता प्रत्यक्ष देखाउने कुलिसको भनाइ छ। प्रदर्शनस्थल पुगेका डिजिटल मामिला मन्त्री क्रिजिस्टोफ गाव्कोव्स्कीले रोबोटमा प्रयोग भइरहेका र भविष्यमा अझ विकसित हुने अनियन्त्रित एआई मोडेलले ठूलो समस्या निम्त्याउन सक्ने बताए।
यसैबीच, पोल्याण्डमा एआई नियमनको कानुनी आधार पनि बन्दै गरेको छ। राष्ट्रपति कारोल नौरोकीले जुलाईमा युरोपेली संघको एआई ऐन कार्यान्वयन गर्नेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका थिए। उक्त कानुनले ईयूमा विद्यमान एआईसम्बन्धी नियमहरू कार्यान्वयन गर्न राष्ट्रिय निकाय गठन गरेको छ।







