वर्षायाम सुरु भएपछि घरवरपर, जमेको पानी र सिल्लिएको वातावरणमा लामखुट्टेको गतिविधि ह्वात्तै बढ्छ । सानो आकारको यो कीरा मानिसका लागि ठूलो स्वास्थ्य चुनौती बन्न सक्छ, किनभने यसले डेंगी, मलेरिया, चिकनगुनिया र जापानिज इन्सेफलाइटिसजस्ता रोग सार्न सक्छ ।
तर सबै लामखुट्टेलाई एउटै आँखाले हेर्नु भने ठीक हुँदैन । सबै प्रजातिले मानिसको रगत चुस्दैनन्, सबैले रोग सार्दैनन् र टोक्ने प्रजातिले पनि सधैं रगतकै लागि मात्र टोक्छ भन्ने छैन । लामखुट्टेबारेका यस्तै तथ्यले यसको व्यवहार बुझ्न र बचावटका उपाय अपनाउन सघाउँछन् ।
उत्पत्तिदेखि आयुसम्म
वैज्ञानिक प्रमाणका आधारमा लामखुट्टेको पुर्खा पेलियोजोइक वा मेसोजोइक युगतिरै अस्तित्वमा आएको अनुमान गरिन्छ । अर्थात् मानिस पृथ्वीमा देखा पर्नुभन्दा धेरै अघि नै लामखुट्टे यहाँ रहेको हुन सक्छ । आज संसारभर लामखुट्टेका हजारौं प्रजाति भेटिन्छन्, तर ती सबै मानिसका लागि हानिकारक छैनन् ।
यसको आयु पनि प्रजाति, तापक्रम, पानी, खाना र वातावरणअनुसार फरक पर्छ । पोथी लामखुट्टे सामान्यतया भालेभन्दा लामो समय बाँच्छन् । केही पोथी करिब दुईदेखि छ हप्तासम्म बाँच्न सक्छन् र यही अवधिमा पटक-पटक रगत चुस्ने तथा अण्डा पार्ने चक्र पूरा गर्छन् ।
रगत कसले र किन चुस्छ ?
रगत चुस्ने काम मुख्यतः पोथी लामखुट्टेले गर्छन् । भालेले मानिस वा जनावरको रगत चुस्दैनन्; उनीहरू फूल तथा वनस्पतिबाट पाइने रसमा निर्भर हुन्छन् । पोथीलाई भने अण्डा विकास गर्न चाहिने पोषण जुटाउन रगत आवश्यक पर्छ, त्यसैले अण्डा पार्ने तयारीमा रहेका पोथी सक्रिय रूपमा रगत खोज्छन् ।
मानिसलाई उनीहरूले शरीरबाट निस्कने कार्बन डाइअक्साइड, शरीरको तापक्रम, पसिना र गन्धजस्ता संकेतका भरमा पहिचान गर्छन् । यही कारण मानिसको भीड बढी हुने ठाउँमा लामखुट्टेको उपस्थिति पनि बढी देखिन्छ ।
कान छेउमा सुनिने भनभन आवाज भने कुनै रहस्य होइन — उडानका क्रममा पखेटा अत्यन्त द्रुत गतिमा फट्किँदा त्यो ध्वनि निस्कन्छ । भाले र पोथीको भन्काइ फरक हुन्छ र यही आवाजको सहारामा उनीहरूले साथी पहिचान गर्छन् । उडान गति भने मानिसको हिँडाइभन्दा कम हुन्छ; लामखुट्टे करिब १.५ माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ भने मानिस सामान्यतया करिब ३ माइल प्रतिघण्टा हिँड्छ । अर्थात् लामखुट्टे तीव्र गतिको नभई लक्ष्य पहिचान गर्न सिपालु कीरा हो ।
प्रजननस्थल : थोरै सफा पानी पनि पर्याप्त
प्रजननका लागि ठूलो पोखरी नै चाहिन्न; घरवरपर जमेको थोरै सफा पानी पनि पर्याप्त हुन्छ । पुराना टायर, गमला, पानी जम्ने भाँडा, बोतल, कुलर, छतजस्ता ठाउँमा टाँसिएको पानी लामखुट्टेका लागि अण्डा पार्ने थलो बन्न सक्छ । त्यसैले वर्षायाममा पानी जम्न नदिनु नै नियन्त्रणको सबैभन्दा प्रभावकारी उपायमध्ये एक मानिन्छ ।
‘लामखुट्टे फोहोर पानीमै हुन्छ’ भन्ने मान्यता सधैं सही हुँदैन । डेंगी सार्ने एडिज जातिले प्रायः जम्मा भएको सफा पानीमा अण्डा पार्छ । घरभित्र वा बाहिर लामो समयदेखि नचलाइएको, सफा देखिने पानी पनि जोखिमपूर्ण हुन सक्छ । त्यसैले पानी सफा छ कि छैन भन्ने मात्र नभई जमेको छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।
सबै लामखुट्टे लामो दूरी उड्दैनन् । कतिपय प्रजाति जन्मिएकै ठाउँ वरपर केही सय फिटको दायरामा सीमित रहन्छन् भने कतिपय हावा, मानिस वा अन्य माध्यमको सहयोगमा दर्जनौं माइलसम्म फैलिन सक्छन् । एउटै घर सफा राखेर मात्र पुग्दैन, वरपरको समुदायमा पनि प्रजननस्थल हटाउनु आवश्यक हुन्छ ।
दिनको सक्रियता, चिलाउने कारण र नियन्त्रण
डेंगी सार्ने लामखुट्टे एडिज एजिप्टाइ हो, जुन दिनको समयमा — विशेषगरी बिहान र साँझतिर — मानिसलाई टोक्छ । रातमा मात्र सतर्क भएर पुग्दैन; दिनमा पनि शरीर ढाक्ने कपडा लगाउने, झुल वा जालीको प्रयोग गर्ने र आवश्यक परे लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्न सकिन्छ ।
हरेक लामखुट्टेले रोग सार्दैन । विश्वभर पाइने हजारौं प्रजातिमध्ये थोरै प्रजाति मात्र मानिसमा रोग सार्न महत्वपूर्ण मानिन्छन् । रोग सार्ने क्षमता प्रजाति र त्यसमा रहेको रोगजनकमा निर्भर हुन्छ । त्यसैले लामखुट्टेको संख्या घटाउनुका साथै रोग सार्न सक्ने जातिको प्रजनन रोक्नु सार्वजनिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ ।
पोथी लामखुट्टेले रगत चुस्ने क्रममा छालामा आफ्नो लार छोड्छ, जसले रगत सजिलै तान्न मद्दत गर्छ । सोही लारप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउँदा टोकिएको ठाउँ रातो हुने, सुन्निने र चिलाउने हुन्छ ।
लामखुट्टे नियन्त्रणका लागि वैज्ञानिकहरू नयाँ प्रविधिमा काम गरिरहेका छन् । त्यसमध्ये वोल्बाकिया नामक ब्याक्टेरियाको प्रयोग महत्वपूर्ण मानिन्छ । केही कार्यक्रममा वोल्बाकिया बोकेका लामखुट्टे प्रयोग गरेर रोग सार्ने क्षमता वा लामखुट्टेको संख्या नियन्त्रण गर्ने प्रयास गरिएको छ । यसले रासायनिक विषादीबाहेकका जैविक उपायतर्फ पनि वैज्ञानिक अनुसन्धान अघि बढिरहेको देखाउँछ ।







