रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भए पनि भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले स्पष्ट पारेको छ ।
कर्वगाड खोलालगायतका स्थानमा भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना सत्य नभएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाललगायत माध्यमबाट फैलिएको उक्त सूचनामा कुनै तथ्य नरहेको डीएसपी अनिलराज गिरीले बताए ।
पहिरोले सडक बन्द हुँदा यात्रु तथा सवारीसाधनको आवतजावतमा समस्या परेको छ । अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच नदी थुनिएको हल्लापछि रुकुम पश्चिम र जाजरकोटका स्थानीयवासी घर छोडेर अग्ला डाँडामा पुगेका छन् । प्रहरीले भ्रमपूर्ण सूचनाको पछि नलाग्न अनुरोध गरेको छ ।







