भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्याउने कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। सडक सम्पर्क टुटेका दुर्गम बस्तीहरूमा राहत सामग्री पुर्याउनका लागि सेनाका पाँच वटा हेलिकप्टर खटाइएका छन्।
राहत सामग्री लिएर सेनाका ११ वटा ट्रक त्रिशूलीसम्म पुगिसकेका छन्। त्रिशूलीबाट हेलिकप्टरमार्फत आवश्यकताअनुसार विभिन्न स्थानमा सामग्री पठाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ। हालसम्म चार पटक राहत सामग्री टिमुरे पुर्याइसकिएको छ।
बाढीमा फसेका नागरिकको खोजी तथा उद्धार कार्य पनि जारी छ। बिहीबारसम्म हवाई र जमिन दुवै माध्यमबाट १७७ जनालाई सुरक्षित स्थानमा सारिएको छ। तीमध्ये ११४ जनालाई हेलिकप्टरबाट र ६३ जनालाई जमिनबाट उद्धार गरिएको हो। भदौ १० गते मात्रै हवाई माध्यमबाट ९७ जनाको उद्धार भएको थियो। बिहीबार बिहान मैलुङको टनेलबाट तीन जना र टिमुरेबाट १४ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा पुर्याइएको छ।
जोखिमयुक्त क्षेत्रमा ११ वटा टोलीले रातभर खोज तथा उद्धार अभियान चलाएका थिए। हाल नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रमा दुई हजारभन्दा बढी सैनिक परिचालन गरिएका छन्। बाढीमा घाइते भएकाहरूको उपचारका लागि त्रिशूलीमा अतिरिक्त मेडिकल टोली पनि खटाइएको छ। उद्धार, राहत वितरण र उपचारलाई एकैसाथ अघि बढाएर प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने काम भइरहेको सेनाले बताएको छ।







