मुख्य सामग्रीमा जानुहोस्

बाढी पीडितका लागि अमेरिकाको ४० लाख डलर सहायता, शव पहिचानमा एफबीआईका फरेन्सिक विशेषज्ञ खटिए

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि अमेरिकाले ४० लाख अमेरिकी डलरभन्दा बढी सहायता परिचालन गरेको छ । ज्यान गुमाएकाको पहिचान र परिवारलाई जानकारी दिन एफबीआईका फरेन्सिक विशेषज्ञ नेपाल प्रहरीसँग…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी पीडितका लागि अमेरिकाको ४० लाख डलर सहायता, शव पहिचानमा एफबीआईका फरेन्सिक विशेषज्ञ खटिए
Online Khabar

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि संयुक्त राज्य अमेरिकाले ४० लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता परिचालन गरेको छ । अमेरिकी दूतावासका अनुसार यो रकम करिब ६१ करोड नेपाली रुपैयाँ बराबर हुन्छ ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेकी छन् । भेटका क्रममा उनले बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकलगायत अन्य पीडितको खोजी र उद्धारमा नेपाल सरकारले असाधारण तत्परता देखाएको उल्लेख गर्दै आभार पनि प्रकट गरिन् ।

दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायतामा खाद्यान्न, आपत्कालीन राहत सामग्री, बन्दोबस्तीका उपकरण तथा विपद् पीडितको पुनर्लाभका लागि आवश्यक विशिष्टीकृत सामग्री समावेश छन् ।

पहिचानमा एफबीआईको सहयोग

बाढीमा परी ज्यान गुमाएकाको पहिचान गर्न र उनीहरूका परिवारसम्म सही जानकारी पुर्‍याउन अमेरिकी अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरू नेपाल प्रहरीसँग समन्वय गर्दै काम गरिरहेको दूतावासले जनाएको छ ।

आफ्ना नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता मान्दै दूतावासले आफन्तबारे जानकारी खोज्ने परिवारलाई सहयोग पुर्‍याउन कन्सुलर सेवा समेत विस्तार गरेको जानकारी दिएको छ ।

नेपालको नेतृत्वमा देशभर जारी विपद् प्रतिकार्यमा सहयोग गर्न अमेरिका नेपालसँग काँधमा काँध मिलाएर अघि बढिरहेको कार्यवाहक राजदूत बोल्डिनले बताएकी छन् । आगामी दिनमा बाढीले पुर्याएको क्षति, विस्थापन तथा मानवीय आवश्यकताको थप आकलन गर्दै नेपाल सरकारसँगको निकट साझेदारी निरन्तर राख्ने प्रतिबद्धता पनि अमेरिकाले जनाएको छ ।