प्रधानमन्त्री राहत कोषमा हाल कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि गरिएको सार्वजनिक आह्वानसँगै स्वदेश र विदेशबाट संकलन भएर यो रकम कोषमा दाखिला भएको हो।
प्रधानमन्त्री कार्यालयले दिएको विवरणअनुसार कोषमा जम्मा भएको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। त्यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। भोटेकोशी बाढीपछि राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन सरकारले आह्वान गरेसँगै विभिन्न संस्था तथा व्यक्तिहरूले कोषमा सहयोग जम्मा गर्दै आएका छन्।







