मुख्य सामग्रीमा जानुहोस्

दसैँ उही, रौनक फरक : गाउँबाट हराउँदै पिङ र चङ्गा, बढ्दै मोबाइलको व्यस्तता

चाड नजिकिएसँगै पुराना पुस्तालाई बाँसको लिङ्गे पिङ, आकाशमा उडाइएका चङ्गा र वर्षमा एक जोर नयाँ लुगाको सम्झना आउँछ। गाउँ छाड्ने क्रम र मोबाइलको बढ्दो प्रयोगले दसैँको सामूहिक रौनक कम गराएको उनीहरूको अनुभव छ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
दसैँ उही, रौनक फरक : गाउँबाट हराउँदै पिङ र चङ्गा, बढ्दै मोबाइलको व्यस्तता
Nagariknetwork

चाड नजिकिएसँगै बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीको मनमा बाल्यकालका दसैँ ताजै हुन्छन् — बाँस, बाबियो र काठ जोडेर गाउँले मिली हालेको लिङ्गे पिङ, आकाशभरि उडाइएका रङ्गीचङ्गी चङ्गा र वर्षमा एक जोर नयाँ लुगाको कौतुहल। ती दृश्य अहिले गाउँबाट क्रमशः हराउँदै गए पनि उनका लागि दसैँ अझै सामूहिक रौनकको पर्व नै हो।

त्यतिबेला घरको आम्दानी सीमित थियो र वर्षको एक जोर नयाँ लुगा जुटाउनु नै ठूलो कुरा हुन्थ्यो। सबैले बजारबाट कपडा किन्न नसक्ने भएकाले घरमै भएको कपडाबाट लुगा सिलाएर लगाइन्थ्यो। नयाँ लुगा शरीरमा पर्दा खुट्टा भूइँमै नटेकेको अनुभूति हुने गरेको तिवारी सम्झन्छन्।

खानपानको हकमा पनि त्यतिबेलाको दसैँ सहज थिएन। मासुको स्वाद लिन वर्षभरि पर्खनुपर्ने अवस्था उनले भोगेका छन्। अहिले बजार र किनमेलको पहुँच बढे पनि न्यून आय भएका परिवारका लागि चाडपर्व मनाउनु जटिल बनेको उनको भनाइ छ। साथै पहिले अहिलेजस्तो खर्च र देखासिकीको दबाब नरहेको उनको बुझाइ छ।

दसैँको मुख्य आकर्षण पिङ थियो। गाउँले जम्मा भएर बाँस ठड्याउँथे, युवाहरू बाबियो बटेर डोरी बनाउँथे र चाहिने काठ जुटाउँथे। टाढाटाढाबाट मानिससमेत पिङ खेल्न आउने गरेको तिवारी बताउँछन्। गीत गाउने र कौडा खेल्ने परिपाटीसँगै मकैको गेडा, आरुको गुठली तथा ढुङ्गाका साना टुक्राले खेलिने खेल बालबालिकाका मनोरञ्जनका साधन थिए। स्रोत सीमित भए पनि सामूहिक सहभागिताले चाडलाई रमाइलो बनाउँथ्यो।

चाडको तयारी गाउँका लागि साझा जिम्मेवारीजस्तै थियो। परमा प्रथाअनुसार एकअर्काको काममा हात बढाइन्थ्यो र घरायसी काम गर्न नसक्ने ज्येष्ठ तथा असहायलाई अरूले सघाउँथे। बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गरेर गाउँले मिली चाडको स्वागत गर्थे। दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ आउने–जाने र मान्यजनबाट टीका लगाउने क्रमले पारिवारिक नाता थप बलियो बनाउँथ्यो।

अहिले फेरिएको गाउँ

पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा गाउँ छाड्ने क्रम बढेपछि दसैँमा फर्किनेहरू पनि छोटो बसाइमै फर्कन थालेका छन्। कतिपय बालबालिका अष्टमीतिर गाउँ आउने र टीकाको भोलिपल्टै फर्कने गरेको तिवारी अनुभव सुनाउँछन्। पिङको चलन पहिलेको तुलनामा घटेको छ भने मोबाइलको बढ्दो प्रयोगले परिवारभित्रको संवाद र घरायसी काममा सहभागिता पातलिँदै गएको उनको गुनासो छ। आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा पर्ने भिन्नताले पनि चाडको अनुभव फरक पारेको उनको बुझाइ छ।

युवा पुस्ताले देखेको दसैँ

स्थानीय युवा सुवास गुरुङ पनि दसैँको स्वरूप बदलिएको महसुस गर्छन्। बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङमा झुल्ने र नाचगान गर्ने चलन थियो; गाउँमा साथीको सङ्ख्या घटेसँगै यी गतिविधि पनि सुक्दै गएका छन्। पहिले प्रचलित रङ्गटे पिङ कतैकतै अझै देखिने भए पनि यसको प्रयोग निकै कम भएको उनी बताउँछन्।

उनका अनुसार आज दसैँमा साथीभाइ भेटेर गफ गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको छ। पहिले परम्परागत संस्कार–संस्कृतिमा टेकेर मौलिक ढङ्गले मनाइने दसैँमा अहिले आधुनिक शैली र देखासिकीको प्रभाव देखिन थालेको उनको भनाइ छ। मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीले पारिवारिक भेटघाटमा कमी ल्याएको उनको ठम्याइ छ।

यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा चिन्ता थपेको उनी स्वीकार्छन्। आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परा व्यवहारमा उतार्न सके मात्र मौलिकता जीवित रहने उनको सुझाव छ।

महिलाको भूमिका र लाहुरेको प्रतीक्षा

६३ वर्षीया धङ्खु गुरुङसँग पनि पुरानो दसैँको सम्झना ताजै छ। गाउँले मिलेर लिङ्गे तथा रङ्गीचङ्गी पिङ हाल्ने, खेल्ने र भेटघाटमा सुखदुःख साटासाट गर्ने गरिन्थ्यो। चाडको तयारीमा महिलाको भूमिका महत्वपूर्ण हुन्थ्यो — घर लिपपोत गर्ने, आँगन सजाउने, बाबियो काटेर कुच्चो बनाउने र सालका पातबाट दुना–टपरी गाँस्ने काममा उनीहरू व्यस्त हुन्थे। घरायसी सामग्री आफैँ बनाएर मिलीजुली चाड मनाउने त्यो चलन अहिले घट्दै गएको उनको अनुभव छ।

उनका श्रीमान् भारतीय सेनामा कार्यरत थिए। बिदामा घर फर्किने उनको समय परिवारका लागि उत्सवजस्तै हुन्थ्यो र त्यही प्रतीक्षाले दसैँको उमङ्ग थपिदिन्थ्यो। अहिले उनका छोरा पनि लाहुरे छन्। पहिले हातमा धेरै पैसा नभए पनि गाउँमा मानिसको जमघट हुने र सबै मिली रमाइलो गर्दै दसैँ मनाइने गरेको उनी सम्झिन्छिन्; अहिले सुविधा बढे पनि पहिलेको जस्तो चहलपहल नरहेको उनको भनाइ छ।

रोजगारी र अवसरको खोजीमा युवा विदेशिने क्रम बढेसँगै गाउँघरमा युवा पुस्ताको उपस्थिति पातलिएको छ। विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकमबाट दसैँ मनाइए पनि सामूहिक भेटघाट र रमाइलो पहिलेजस्तो हुन नसकेको उनी बताउँछिन्। गाउँमै फर्किएका युवासमेत मोबाइलमा व्यस्त हुने गरेकाले सँगै बसेर कुराकानी गर्ने र सुखदुःख साट्ने अवसर घटेको उनको अनुभव छ। यसले पुराना संस्कार, संस्कृति र सामूहिकताको परम्परा कमजोर बन्दै गएकोमा उनी चिन्ता व्यक्त गर्छिन्।

पर्वको महत्व र निरन्तरता

दसैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो। घटस्थापनाबाट सुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा–आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ। असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको यो पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँको जनजीवन जीवन्त बनाउँथे। ती केवल मनोरञ्जनका माध्यम नभई आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए। यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा भने छैनन् — कतै निरन्तरता छ, कतै क्रमशः कमजोर बन्दै गएका छन्।

बदलिँदो समयसँगै चाड मनाउने शैली फेरिनु स्वाभाविक भए पनि मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ। आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिने सुझाव सरोकारवालाको छ।

दसैँ आज पनि उत्तिकै महत्वपूर्ण छ, तर यसको रौनक र अनुभव समयसँगै फेरिँदै गएको छ। ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व खानपान र बिदाको विषय मात्र नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको साइनोसँग जोडिएको विषय पनि रहेको देखाउँछ।