उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरमा बुधबार साँझ जंगलबाट गाउँ पसेको स्यालले दर्जन बढी पशु चौपायालाई टोकेर घाइते बनाएको छ । स्यालको आक्रमणपछि गाउँभर त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।
वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)का अनुसार साँझ करिब ५ बजे अचानक सडकमा देखिएको स्यालले बाटोमा भेटिएका गाई, भैँसी, पाडा, गोरु, बाख्रा र खसीमध्ये जे जति भेट्यो त्यसैलाई टोक्दै अघि बढेको थियो । मान्छे देख्दा पनि नडराएको स्याल सडकको बाटो मात्र नभई छेउछाउका घरधनीका गोठभित्रै पसेर पशु चौपाया टोक्दै हिँडेको उनको भनाइ छ ।
दसैँको टीकाका दिन परेकाले आफन्त तथा माइती–मावली जानेहरूको आउजाउ बाक्लो थियो । तर स्याललाई देख्नासाथ सबै भागाभाग गरेकाले मानिसहरू भने टोकाइबाट बचेको वडाध्यक्ष खत्रीले जानकारी दिए । उनका छोराले घर नजिकै आएको स्याललाई लाठीले हिर्काएपछि स्याल अन्यत्र मोडिएको थियो ।
स्यालले खैजनपुरमा मात्र नभई छिमेकी सनुवा टोल र आसपासका बस्तीमा पनि पशु चौपाया टोकेको छ । स्वस्थ र वयस्क देखिने, करिब ३० किलोभन्दा बढी तौल भएको स्यालले ती क्षेत्रमा आतंक मच्चाएको स्थानीयको भनाइ छ । खैजनपुरमा मात्र १५ वटा गाई, गोरु, राँगा, भैँसी, बाख्रा र खसी टोकिएको र नदेखिएका थप पशु पनि घाइते भएको हुनसक्ने उनीहरूको अनुमान छ ।
रेबिजविरुद्ध खोप सुरु
स्याल तथा अन्य वन्यजन्तु गाउँ पस्ने घटना यस क्षेत्रमा विरलै हुने गरेको छ । पसे पनि मानिस देखेपछि भाग्ने गरेको अवस्थामा यो स्याल भने नडराई हिँडेकाले बहुलाएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । सोही आशंकाका आधारमा घाइते पशु चौपायालाई रेबिजविरुद्धको सुई दिन थालिएको छ ।
घटना भएको २४ घण्टा नबित्दै वडा कार्यालयको पशु प्राविधिकको सहयोगमा बिहीबार बिहानदेखि खोप लगाउने काम सुरु भएको छ । स्याल फेरि पनि गाउँ पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै वडाध्यक्ष खत्रीले नगरपालिका र प्रहरी प्रशासनसँग आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
भुल्के र चुरे जंगलसँग जोडिएको खैजनपुरमा बेलाबेलामा जंगली हात्तीको बथान हिँड्ने गर्छ, जसले बालीनाली तथा घरटहरामा क्षति पुर्याउँदै आएको छ । त्यसैले त्रसित बनेका बासिन्दा यस पटक भने स्यालको आक्रमणले छक्क परेका छन् । स्यालले गाउँ पसेर यसरी दुःख दिएको घटना आफ्नो जीवनमा पहिलो पटक देखेको स्थानीय काशी राईले बताए ।







