सरकारी वेबसाइट तथा प्रणालीमा साइबर सुरक्षाको जोखिम देखिएपछि नेपाल सरकारले तीमध्ये केहीलाई हाललाई बन्द गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेकाले सम्भावित आक्रमणको जोखिम कम गर्न यो कदम चालिएको हो।
बुधबार सार्वजनिक भएका दुई सुरक्षा जोखिमका कारण आक्रमणकारीले प्रयोगकर्ताको अनुमति वा लगइन नै नगरी प्रभावित सर्भरमा कोड चलाउन सक्ने खतरा रहेको केन्द्रले जनाएको छ। सर्भरमा बाह्य पहुँच खुला हुने यस्तो अवस्थालाई मध्यनजर गर्दै जोखिम भएका प्रणाली तत्काल रोक्नुपर्ने अवस्था आएको हो।
केही प्रणाली पुनः सञ्चालनमा
जोखिम सार्वजनिक भएपछि सरकारी निकायका प्राविधिक टोली सुरक्षा सुधारको काममा खटिएका छन्। केन्द्रका अनुसार केही प्रणालीमा सुधार गरी पुनः सञ्चालनमा ल्याइसकिएको छ। बाँकी प्रणालीको सुरक्षा परीक्षण र सुधार पूरा भएपछि ती पनि क्रमैसँग चालु गराइनेछ।
दसैं बिदाको समयमा प्रणाली बन्द गरिएकाले सरकारी कामकाजमा असर नपरेको केन्द्रको भनाइ छ। सबै महत्वपूर्ण प्रणालीलाई सुरक्षा सुधार गरेर दसैं बिदा सकिनुअघि नै पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।







