विजयादशमीका अवसरमा भक्तपुरमा जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट स्थानीय भक्तजन तथा आमसर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् । कार्तिक ४ गते आज दिनभर चलेको टीका ग्रहणपछि दुर्गा विसर्जन गरिँदै तलेजु भवानीलाई दसैँ घरबाट मूलचोकको दक्षिण देवगृहमा भित्र्याइएको छ ।
भक्तपुरको तलेजुमा जीवित देवीका रूपमा पुजिने कुमारीले सबैभन्दा पहिले साइतको टीका आफैँ लगाएकी थिइन् । त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले कुमारीकै हातबाट साइतको टीका लगाए । यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार पुजारीवर्गले टीका लगाएपछि मात्र सर्वसाधारणका लागि टीका ग्रहण खुला गरिएको थियो ।
दसैँ घरबाट देवगृहतर्फ
टीका ग्रहण सकिएपछि तलेजु भवानीलाई विधिपूर्वक देवगृहमा भित्र्याइएको हो । फूलपातीको दिन तलेजुलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो । आज राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक देवगृहमा लगेका हुन् ।
तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्पराअनुसार जामा, पगरी, भोटो र खास्टोलगायतका वस्त्र धारण गरेका थिए ।







