भक्तपुरमा बडादसैँ अर्थात् विजयादशमीको मध्यरातदेखि आरम्भ भएको पायःद्यो (खड्ग जात्रा) सहित तलेजु भवानीको बाहन सेता घोडाको जात्रा एकादशीका दिन बिहीबार बिहान सम्पन्न भएको छ।
विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण राति भक्तपुरका विभिन्न टोल हुँदै दरबारस्क्वायर पुगेका थिए। त्यहाँ बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन तथा ढोग गरेर मन्त्रसिद्धि गराउने परम्पराअनुसार यो जात्रा सम्पन्न भएको हो।
राति नै देवगणलाई नवदुर्गा देवगृहतर्फ लगिएको थियो। दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमासहित ढोग गरी तलेजुको देवगृहभित्र प्रवेश गराइएपछि बिहानीपख जात्रा टुंगिएको हो। खड्ग जात्राकै क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोकसम्म पुर्याउँछन्, त्यसपछि सर्वसाधारणका लागि पूजा र दर्शन खुला हुने परम्परा छ।
मध्यरातमा खड्ग हस्तान्तरण
तलेजुका पूर्व मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार बडादसैँको मध्यरातमा तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरूप पायः द्यो तयार पारिन्छ। तलेजुका मूल आचाजु अर्थात् पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा सुरु हुने उनले जानकारी दिए।
संस्कृतिविद् प्रकाश कायस्थका अनुसार तलेजु भवानीको साक्षात् रूप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिराएर जात्रा मनाइन्छ। राति तलेजुलाई दरबारस्क्वायरको स्वर्णद्वार (गोल्डेन गेट)सम्म ल्याइएपछि पङ्क्तिबद्ध रूपमा प्रतीक्षारत नवदुर्गा देवगणले पालैपालो तलेजुबाट मन्त्रसिद्धि प्राप्त गर्छन्। यसरी सिद्धि पाएपछि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अघि बढ्ने प्रचलन छ।
चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो वा तल्लो क्षेत्रतर्फ जात्रा लैजाने परम्परा छ। सोहीअनुसार यस वर्ष तल्लो क्षेत्रतर्फ राति खौमा, इताछे, टेखापुखु, वंशगोपाल र तौमढी पुगेर तलेजुले नवदुर्गाको दर्शन गरेपछि नवदुर्गा सिद्धि हुने परम्परा पूरा गरिएको हो।
भेँडा बलिपछि सेता घोडाको परिक्रमा
विजयादशमीको राति तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायले तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेता घोडाको जात्रा सुरु हुने परम्परा छ। जात्राअघि सेता घोडालाई एउटा भेँडा बलि चढाइन्छ र तलेजुको मूलचोकबाट बाहिर ल्याएर भक्तपुर नगरमा डुलाइन्छ।
जात्राका क्रममा ब्रह्मायणी र तलेजुलाई नगरका विभिन्न क्षेत्रको परिक्रमा गराउँदा तलेजुको बाहन सेता घोडालाई पछिपछि परिक्रमा गराइन्छ। विगत दुई वर्षदेखि घोडा जात्रा रोकिएको विषयमा भने जात्राका आयोजकहरूले आधिकारिक जानकारी दिएका छैनन्।







