मुख्य सामग्रीमा जानुहोस्

विश्वपत्र अनलाइन

थिएटरको मञ्चमा आफूलाई खोज्दै सुहाना

अभिनेत्री सुहाना आचार्यको लागि थिएटर शान्ति हो भने फिल्म भविष्य। तर यी दुई क्षेत्रको अनुभव एकदमै विपरीत रह्यो। बाल्यकालमा हिरोइन बन्ने सपना देखेकी सुहाना अहिले थिएटरलाई बढी प्राथमिकता दिन्छिन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
थिएटरको मञ्चमा आफूलाई खोज्दै सुहाना

अभिनेत्री सुहाना आचार्यको करियर सुरुवातमा दुई फरक क्षेत्रका पहिलो पाइला एकदमै भिन्न थिए। थिएटरमा उनले सजिलै स्थान बनाइन् भने फिल्मको सेटले उनलाई सोच्न बाध्य बनायो। एल्लो कमेडी नाटक उनको पहिलो थिएटर प्ले थियो, जहाँ उनले एयरहोस्टेसको भूमिका निभाएकी थिइन्। शिल्पी थिएटरको स्टुडेन्ट प्रोडक्सनमा मञ्चन भएको उक्त नाटकको तीन महिनाको प्रशिक्षणले उनमा आत्मविश्वास भरिदियो। पहिले आफ्नो नाम भन्न समेत काप्ने सुहाना मञ्चमा प्रवेश गर्ने बित्तिकै निर्धक्क हुन थालिन्। थिएटरमा सबै साथी र गुरुहरू एक परिवार जस्तै भएकाले उनलाई अझ सहज भयो।

यसको विपरीत, फिल्मको पहिलो अनुभव उनका लागि खराब रह्यो। ए मेरो हजुर ३ मा सानो भूमिकाका लागि उनी सेटमा पुगिन्। समयमै पुगे पनि प्राविधिक गडबडीले लामो प्रतीक्षा गर्नुपर्यो। त्यसपछि फोन चलाउँदा टिमका एक सदस्यले उनलाई गाली गरे। थिएटरको स्नेह र आत्मीयता बानी परेकी सुहानाका लागि फिल्म सेटको रुखो व्यवहार दुःखदायी थियो। तर उनले त्यही क्षण बुझिन् कि फिल्ममा कलाकारको भावनाभन्दा प्रविधि र समय बढी महत्त्वपूर्ण हुन्छ।

बाल्यकालको सपना

सुहाना सुनसरीको चक्रघट्टीमा जन्मेकी हुन्। सानोमा अन्तरमुखी स्वभावकी उनी अरुसँग बोल्न लाज मान्ने र भीडभाडबाट डराउने गर्थिन्। तर नाच्न भने मन लाग्थ्यो र लुकी-लुकी नाच्थिन्। उनी मनमनै हिरोइन बन्ने सपना देख्थिन्। कसैले भविष्यमा के बन्ने भनेर सोध्दा हतारहतार ‘हिरोइन’ भन्ने उत्तर दिन्थिन्। शनिबार दिउँसो टेलिभिजनमा आउने नेपाली फिल्म हेर्न कहिल्यै नछुटाउने, सीडी/डीभीडी किनेर फिल्म हेर्ने उनको बानी थियो। सन्चिता लुइँटेल, निरुता सिंह र रेखा थापा उनका प्रेरणा थिए।

८ कक्षामा पढ्दा उनले काठमाडौं जाने जिद्दी गरिन्, तर आमाले प्लस टु सकेपछि मात्र जान दिने भनेर फकाए। त्यसपछि प्लस टु सकिएपछि सन् २०१८ तिर उनी ढुक्कले काठमाडौं आइन्। आएको भोलिपल्ट एक आफन्तले उनलाई बत्तिसपुतलीस्थित शिल्पी थिएटर पुर्याइदिए। त्यहाँ अभिनय कक्षामा भर्ना हुँदा पनि उनको मनमा फिल्मकै सपना थियो। तर कक्षा सुरु भएपछि शारीरिक अभ्यास र स्ट्रेचिङ देख्दा उनलाई अचम्म लाग्यो।

थिएटरप्रति समर्पण

थिएटरको लत लागेपछि सुहानाले फिल्मभन्दा बढी नाटक गर्न थालिन्। एल्लो कमेडीपछि उनले छ पात्रको एकालाप, मुकुण्ड इन्दिरा, सत्तापत्ता जस्ता नाटक गरिन्। त्यसपछि लस्ट एन्ड फाउन्डमा पनि जोडिइन्, जुन युरोप टुरमा गएको थियो। यसबीचमा उनी कान्तिपुर फिल्म एकाडेमीमा पनि भर्ना भइन् र त्यही संस्थाको थिएटर प्रोडक्सन महारानीको जात्रामा अभिनय गरिन्। सेतो धरती नाटकको मञ्चनका क्रममा उनी बिरामी परिन्। प्रेसर लो भएर अस्पताल भर्ना भइन्, स्लाइन चढाइयो। सबैले आराम गर्न सुझाव दिए, तर ‘दर्शकले पैसा तिरेर हेर्न आएको, उनीहरूलाई निराश पार्नु हुँदैन’ भन्ने सोचले उनलाई हतारमा थिएटर पुर्यायो। डिस्चार्ज भएपछि सिधै कान्तिपुर थिएटर पुगेर पात्रको ड्रेस लगाइन्। मञ्चमा उत्रिएपछि शरीरको कमजोरी र मनको प्यानिक हरायो। उनको लागि मञ्च संसारको सबै दुःख भुलाउने शान्ति हो।

फिल्मको सन्दर्भमा उनले ए मेरो हजुर ४, नाइ नभन्नु ल ६ र एक्टर टेक वानमा अभिनय गरेकी छन्। तर थिएटरमा जस्तो पात्रको नसानसा छाम्ने र स्रष्टा बन्ने अनुभव फिल्मले नदिएको उनको ठम्याइ छ। फिल्मको सेटमा अन्तिम समयमा डाइलग दिएर तुरुन्त क्यामेरा अगाडि बोल्नुपर्ने बाध्यताले कलाकारको सिर्जनशीलता खुम्चाउने उनी बताउँछिन्। तैपनि, उनी फिल्मको प्राविधिक पक्ष र यसको विशालताको सम्मान गर्छिन्। आगामी दिनमा उनी सकेसम्म फिल्म कम गर्ने सोचमा छिन्, किनकि डमी बनेर यान्त्रिक हुनुभन्दा थिएटरमा स्रष्टा बन्नु उनका लागि प्रिय छ।