मुख्य सामग्रीमा जानुहोस्

जागिर छाडेर प्राकृतिक खेतीतिर फर्किए जेन-जी: 'हलो क्रान्ति' का साझेदार

मोरङमा तीन जेन-जी युवाले जागिर छाडेर प्राकृतिक खेती सुरु गरेका छन्। रेवती दाहाल, अविन चौधरी र दीप खतिवडाले 'हलो क्रान्ति कृषि फार्म' सञ्चालन गर्दै आठ महिनादेखि विषादीरहित उत्पादन गरिरहेका छन्। उनीहरूको योजना फार्मलाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
जागिर छाडेर प्राकृतिक खेतीतिर फर्किए जेन-जी: 'हलो क्रान्ति' का साझेदार

मोरङको ग्रामथान–१ लखन्तरीमा तीन युवाले जागिर छाडेर प्राकृतिक खेतीमा हात हालेका छन्। २५ वर्षीय रेवती दाहाल, २८ वर्षीय अविन चौधरी र इलेक्ट्रोनिक्स इन्जिनियर दीप खतिवडा मिलेर 'हलो क्रान्ति कृषि फार्म' सञ्चालन गरिरहेका छन्। उनीहरूले पाँच बिघा जमिन १० वर्षका लागि लिजमा लिएका छन्।

रेवती दाहाल विराटनगर–१ का हुन्। उनले कृषि पढे पनि सुरुमा लोकसेवा पढेर 'हाकिम' बन्ने सपना देखेका थिए। तर प्राकृतिक खेती अभियन्ता माधव ढुंगेलसँगको चिनजानपछि उनको ध्यान कृषितिर मोडियो। उनी केही समय सिन्धुलीको काउछेस्थित प्राकृतिक कृषि सहकारीमा आबद्ध भए, जहाँ १६ जना युवाले सामूहिक खेती गर्थे। पछि उनी एक गैरसरकारी संस्थामा जागिरे भए, तर १० महिनापछि त्यो पनि छाडेर फेरि कृषि नै रोजे।

अविन चौधरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का हुन्। उनी र रेवती एउटै कृषि क्याम्पसमा पढेका सहपाठी हुन्। रेवतीले जमिन पाएपछि उनलाई सम्झिए र प्राकृतिक खेतीको प्रस्ताव गरे। अविनले लहानको एक निजी स्कुलको जागिर राजीनामा दिएर मोरङ आइपुगे।

दीप खतिवडा काठमाडौंस्थित 'ग्याजेट वाइट' नामक संस्थामा इलेक्ट्रोनिक्स इन्जिनियर थिए। रेवतीको आग्रहमा उनले दुई महिना समय मागे र तेस्रो महिनादेखि कृषि फार्ममा जोडिए।

तीनै जनाले जनही आठ लाख रुपैयाँ लगानी गरेका छन्। पाँच बिघामध्ये तीन बिघामा आँप, लिची, अम्बा, बेर, केरा, मेवा, सीताफल, जामुन र भुइँकटहरजस्ता फलफूल लगाइएको छ। बाँकी दुई बिघामा पूर्णरूपमा विषादीरहित मौसमी तरकारी खेती भइरहेको छ। उनीहरूको उत्पादन मण्डीमा नपठाई उपभोक्ताको घरमै पुर्याइन्छ। 'पारिवारिक किसान' (फेमिली फार्मर) को अवधारणाअनुरूप उनीहरूले 'तपाईंको परिवारका लागि हामी स्वस्थकर तरकारी फलाइदिन्छौं' भन्ने नारा लिएका छन्।

रेवती भन्छन्, 'हामी तीनै जना खुसीको खोजीमा थियौं, त्यही खोजीले हामीलाई यहाँसम्म ल्यायो।' रासायनिक विषादी प्रयोग गरेर बढी आम्दानी गर्न सकिने भए पनि उनीहरू प्राकृतिक खेतीलाई नै प्राथमिकता दिन्छन्। दीप खतिवडाका अनुसार दीर्घकालमा यस क्षेत्रलाई फलफूल बगैंचा, कृषि–पर्यटन, होमस्टे र अन्ततः कृषि अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना छ।