मुख्य सामग्रीमा जानुहोस्

ढोरपाटनमा कंक्रिटका घर ठडिँदै, मौलिकता संकटमा

बागलुङको ढोरपाटन उपत्यकामा कंक्रिटका घरहरू बढ्दै गएपछि यसको प्राकृतिक र मौलिक पहिचान जोगाउन चुनौती थपिएको छ । आरक्ष क्षेत्रभित्र पनि सिमेन्टका संरचना ठडिँदा पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा असर पुग्ने चिन्ता व्यक्त…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
ढोरपाटनमा कंक्रिटका घर ठडिँदै, मौलिकता संकटमा

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने ढोरपाटन उपत्यकामा कंक्रिटका संरचना ठडिँदै गएपछि यसको मौलिकता लोप हुने खतरा बढेको छ । आरक्षभित्र संरचना बनाउन अनुमति लिनुपर्ने नियम भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

एकीकृत विकास कार्यालयले ढोरपाटनदेखि गार्पा छेडा हुँदै बुकीपाटन जाने पदमार्ग निर्माणका लागि बजेट छुट्ट्याए पनि आरक्ष र वन विभागसँग समन्वय नहुँदा काम अगाडि बढ्न सकेको छैन । कार्यालय प्रमुख शिव शर्माका अनुसार पर्यटकलाई सहज यात्राका लागि काठको पुल र ढुंगामाटोको सिँढी बनाउन खोज्दा अनुमति नदिँदा होटलहरू भने कंक्रिटले बनिरहेका छन् ।

कंक्रिटको प्रयोग बढ्दै

उपत्यकामा हाल ४० भन्दा बढी होटल सञ्चालनमा छन्, जसमध्ये अधिकांश सिमेन्ट र ढलानले बनेका छन् । स्थानीय होटल व्यवसायी शिव कँडेलले आधाजसो घरमा सिमेन्ट प्रयोग भइसकेको बताए । तिब्बती शरणार्थी क्याम्पमा पनि पक्की घर बनिरहेका छन् भने ऐतिहासिक ढोरबराह मन्दिर परिसरमा दुई वटा कंक्रिटका घर बनाइएका छन् । मन्दिरका पुजारी चामबहादुर थापाले ती घर स्टोर र पुजारी बस्नका लागि बनाइएको बताए । नगरपालिकाले ती घर बनाउन अनुदान पनि दिएको छ । आरक्षको प्रवेशद्वार र सेनाको चेकपोस्ट पनि आरसीसी संरचनामा बनेका छन् ।

स्थानीयहरूले उत्तरगंगाको बालुवा खनिखोस्री गर्न र दैनिक उपभोग्य वस्तु घाँस, दाउरा निकाल्न रोक लगाएको गुनासो गरेका छन् । आरक्षका सूचना अधिकारी सागर सुवेदीले जथाभावी उत्खनन् रोक्न र मौलिकता जोगाउन यस्तो नियम लागू गरिएको बताए, तर ढलानका घर नबनाउन सुझाव दिए पनि रोक लगाउन सकेको छैन ।

संरक्षणकर्मीको चिन्ता

एकल यात्री सिर्जना ओलीले ढोरपाटन प्राकृतिक सम्पत्ति भएकाले यसलाई जोगाउन कंक्रिटका संरचना नबनाउनुपर्ने बताइन् । जलवायु परिवर्तनले असर पारिरहेको बेला आरक्षभित्र पक्की घर बनाउनु राम्रो नभएको उनको भनाइ छ । उनले नगरपालिका र आरक्षले तत्काल रोकेर परम्परागत घर बनाउन अनुमति दिनुपर्ने सुझाव दिइन् ।

नेपाल ट्रभल एण्ड ट्रेकिङ एजेन्सी (टान) का गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटकले सुविधा खोजे पनि कंक्रिटका घर नचाहिने बताए । स्थानीय काठ र ढुंगाकै घरमा मौलिकता दिन सकिने उनको भनाइ छ ।

मापदण्डको अभाव

ढोरपाटन नगरपालिकाले अहिलेसम्म स्थानीय भवन निर्माण मापदण्ड बनाउन सकेको छैन । इन्जिनियर बुद्धि राना मगरका अनुसार हाल संघीय मापदण्ड मात्रै लागू छ, जसले गर्दा कंक्रिटका घर बनाउन नियन्त्रण गर्न सकिएको छैन । इन्जिनियर ध्वज साउँदले डेढ वर्षदेखि घरहरूको अद्यावधिक काम रोकिएको बताए । नगरपालिकाले मापदण्ड बनाएपछि कडाइ गर्न सकिने उनको भनाइ छ ।

आरक्षले प्लास्टिक फाल्न र पदमार्गमा सिमेन्टका संरचना बनाउन रोक लगाए पनि व्यक्तिगत घर बनाउँदा हस्तक्षेप गरेको छैन । आरक्ष कार्यालयकै नजिक पनि यस्ता घर देख्न सकिन्छ । स्थानीय भूमिराज विकले यहाँ परम्परागत रूपमा ढुंगा–माटोको घर र काठका फल्याकले छाउने चलन रहेको बताए ।

वर्षभरीमा ३० देखि ३५ हजार पर्यटक घुम्न आउने ढोरपाटनको यो क्रम बढ्दो छ । तर फोहोर व्यवस्थापन र कंक्रिट संरचनाले आकर्षण घट्न सक्ने चिन्ता छ । स्थानीय रमिता पुनले मौलिकता र आतिथ्यता दिन सके वर्षमा एक लाख पर्यटक भित्र्याउन सकिने बताइन् ।

नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले मौलिकता जोगाएर एकीकृत बस्ती विकास गर्ने र पर्यटकीय हब बनाउने पहल गर्ने बताए । उनले कंक्रिट प्रयोग नगर्न सुझाव दिए । सालझण्डी–ढोरपाटन सडक १६ वर्षअघि सुरु भए पनि अझै पूरा नभएकाले पर्यटकले सास्ती खेप्नुपरेको छ ।