जुम्लाको सिँजा गाउँपालिकामा बिहीबार साउने सङ्क्रान्तिको अवसरमा खस दिवस तथा खस नयाँ वर्ष भव्य रूपमा मनाइएको छ। गाउँपालिकाले २०७९ सालदेखि साउने सङ्क्रान्तिलाई औपचारिक रूपमा खस दिवसका रूपमा मनाउँदै आएको छ। खस दिवसका दिन पालिकाभर सार्वजनिक बिदा समेत दिँदै आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
अध्यक्ष धितालका अनुसार पालिका केन्द्र नराकोटमा हाटबजार तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। स्थानीय महिला–पुरुषहरू गाउँबस्तीबाट खस पोशाकमा सजिएर आफ्नो घरको रैथाने उत्पादन बोकेर हाटबजारमा आउने गर्छन्। यसले पुर्खाहरूको कृषिप्रतिको माया उजागर गर्ने देखिएको छ।
ऐतिहासिक तथा सामाजिक महत्व
साउने सङ्क्रान्ति खस समुदायको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक भएको उल्लेख गर्दै अध्यक्ष धितालले भने, ‘यो दिनलाई खस नयाँ वर्षको सुरुआतका रूपमा मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय व्यवस्थापनसँग जोडिएको ऐतिहासिक दिनका रूपमा व्याख्या गर्ने चलन छ।’
परम्परागत रूपमा साउने सङ्क्रान्तिका दिन गाउँको ठेकथिति बाँध्ने तथा आगामी वर्षका लागि आवश्यक नीति निर्माण गरिन्थ्यो। यही दिन गाई, भेडा, भैँसी तथा घोडाजस्ता चौपायालाई कुन लेक, खर्क र पाटनमा लैजाने भन्ने सामूहिक निर्णय गरिने चलन रहेको छ। कर्णालीका धेरै गाउँमा यो परम्परा अझै पनि जीवित रहेको अध्यक्ष धितालको भनाइ छ।
खस समाजमा साउने सङ्क्रान्ति आर्थिक अनुशासन सुदृढ गर्ने दिनका रूपमा पनि परिचित छ। यस दिन गाउँको आय–व्यय, दण्ड–जरिवाना, दस्तुर तथा अन्य आर्थिक कारोबारको हिसाब–किताब मिलाउने र आवश्यक असुलउपर गर्ने प्रचलन रहेको छ। यसले सामुदायिक व्यवस्थापनलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पर्यटन र प्रकृतिसँग जोडिएको पर्व
साउने सङ्क्रान्ति पर्यटन र प्रकृतिसँग जोडिएको पर्व पनि हो। ‘अल्का लेक जाउला, चिसो पानी खाउला’ भन्ने युक्ति अहिले पनि समुदायमा लोकप्रिय छ। बेंसीको गर्मीबाट बच्न किसानहरू लेक, खर्क र पाटनतर्फ उक्लने, पशुपालन गर्ने, लेकाली तरकारी र फलफूल खाने, चिसो पानी तथा दुग्धजन्य परिकारको स्वाद लिने र वनजङ्गलमा फुलेका रङ्गीचङ्गी फूल तथा हिमाली प्राकृतिक सौन्दर्यको आनन्द लिने परम्परा आजकै दिनदेखि सुरु हुने विश्वास छ।
रोपाइँ र गोडमेलजस्ता कृषि कार्यबाट थकित किसानहरूले यस दिन घर–आँगन सफा गर्ने, पुराना फोहोर हटाउने तथा ‘लुतो फाल्ने’ परम्परा रहेको स्थानीय किसान हरीबहादुर थापाले बताए। ‘यसले शरीर र मन दुवै शुद्ध भई नयाँ ऊर्जा प्राप्त होस् भन्ने सांस्कृतिक विश्वास बोकेको छ,’ उनले थपे।
त्यसैगरी, साँझ घर–घरमा राँका (मशाल) बाल्ने परम्परा पनि खस संस्कृतिको महत्वपूर्ण पक्ष रहेको जानकारहरू बताउँछन्। विजय, साहस र सामुदायिक एकताको प्रतीकका रूपमा राँका बाल्ने, रमाइलो शैलीमा दोहोरी, हाँसो–ठट्टा तथा सांस्कृतिक गतिविधि गर्ने परम्पराले यस पर्वलाई विशिष्ट बनाएको छ।
खस सभ्यताको संरक्षणमा जोड
सिँजा नेपाली (खस) भाषाको उद्गमस्थल तथा खस सभ्यताको केन्द्र भएकाले यसको इतिहास, भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण राज्यको साझा दायित्व हुनुपर्नेमा जुम्लावासीले जोड दिएका छन्। उनीहरूले खस सभ्यतासँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन–अनुसन्धान तथा नयाँ पुस्तामा यसको ज्ञान हस्तान्तरण गर्न तीनै तहका सरकार र सरोकारवाला निकायले प्रभावकारी पहल गर्नुपर्नेमा माग समेत राखेका छन्। जिल्लाका आठ स्थानीय तहमध्ये सिँजाले मात्रै हरेक साउने सङ्क्रान्तिका दिन खस दिवस मनाउँदै आएको छ।

