जुम्लाको सिँजा क्षेत्रमा असारको अन्तिम दिन बिहानैदेखि गाउँका गोरेटाहरूमा चहलपहल सुरु हुन्छ। युवायुवतीहरू डोको र प्लास्टिकका झोला बोकेर जंगलतिर लाग्छन्, जहाँ राताम्मे पाकेको भुइँकाफल टिप्ने चलन छ। यो दिन केवल फल टिप्ने मात्र होइन, पुस्तौँदेखि चलिआएको संस्कृतिसँग जोडिने अवसर पनि हो।
सिँजा, हिमा र कनकासुन्दरीका धेरै गाउँमा आज पनि असारको अन्तिम दिन काफल नखाई महिनाको बिदाइ नहुने विश्वास छ। जेठको मध्यदेखि पाक्न थालेको काफल यही बेला सबैभन्दा स्वादिलो हुन्छ। असार अन्तिम दिनको काफल छुट्यो भने अर्को वर्ष कुर्नुपर्ने कथन यहाँ प्रचलित छ।
यो दिन पाटनमा काफल, दही, दूध, जुम्ली मार्सीको खिर, मासु, पुरी र तरकारीको सामूहिक भोज हुन्छ। यसै दिनदेखि गाईको गलामा पहिलोपटक घाँडो बाँध्ने र लेकतिर गोठालो जाने दैनिकी सुरु हुन्छ। वर्षालाई पनि यहाँ शुभ मानिन्छ; सिमसिमे झरीमा भिज्दै देउडा खेल्नेहरूको अनुहारमा खुसी देखिन्छ।
स्थानीय सुनौलो क्षेत्री भन्छन्, 'हामी काफल टिपेर असारलाई बिदाइ गर्छौं। पानी परेपछि साउन आएको मानिन्छ। यही दिन नयाँ मौसम सुरु भएको जस्तो लाग्छ।' सिँजा–६ का मानबहादुर बुढाले जंगलमा चराचुरुङ्गीको आवाज पनि यो संस्कृतिसँग जोडिएको बताए। चराले कराउन थालेपछि काफल पाकेको थाहा हुन्छ। उनले भने, 'जंगल राताम्मे हुन्छ, चरा पनि रमाउँछन्, मानिस पनि।'
पछिल्लो समय धेरै युवा अध्ययन र रोजगारीका लागि बाहिरिएका छन्। पहिलाजस्तो हरेक घरमा जुम्ली मार्सीको खिर पाक्दैन। केही पाटन पूरै भरिभराउ देखिँदैनन्। तैपनि, परम्परा जीवित छ। त्यसैलाई जोगाउन सिँजा गाउँपालिकाले यो दिनलाई औपचारिक रूपमा 'काफल दिवस' का रूपमा मनाउन थालेको छ। गाउँसभाको निर्णयपछि हरेक वर्ष यो पर्व अझ व्यवस्थित बनेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
यस वर्ष गोवानी, दमाईमारे, डिके, दिलौरी, माजखर्क र चौरीमेलका पाटनमा सयौँ स्थानीय भेला भए। देउडाको धुन गुञ्जियो, चड्किला घन्किए र काफल टिप्न लगिएका भाडा भरिए। साँझ घर फर्कंदा हातमा काफल र अनुहारमा मुस्कान थियो। अध्यक्ष धितालले आगामी दिनमा काफलको संरक्षणलाई पनि प्राथमिकता दिने बताए। उनले भने, 'यो हाम्रो संस्कृति हो, पुर्खाले छाडेर गएको चिनो हो। यसको उत्थान गर्दै अझ परिमार्जित बनाउँदै लैजाने तयारी छ।'

