नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिनुपर्ने बताएका छन्। बुधबार गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले राजीनामा नआए भदौ २३ र २४ गतेकै शैलीमा आन्दोलन घोषणा हुने चेतावनीसमेत दिए।
बस्नेतले जेनजी आन्दोलनपछि विघटित संसद्को पुनर्स्थापना गर्ने विषय आन्दोलनको एजेन्डा बन्ने बताए। असोज ६ र ७ गते बस्ने बैठकको मुख्य एजेन्डा पनि संसद् पुनर्स्थापना नै हुने उनको भनाइ छ। कतिपय साथीहरूले संसद् पुनर्स्थापनाबारे प्रश्न उठाएको भन्दै उनले सो बैठकमा छलफल हुने जानकारी दिए।
विगतमा प्रतिगमन सच्याउन संसद् पुनर्स्थापनाको प्रक्रियालाई आन्दोलनले स्वीकारेको स्मरण गर्दै बस्नेतले यसअघि पनि नेकपा एमालेले संसद् पुनर्स्थापना गरेको दाबी गरे। अहिले पनि प्रतिगमन अन्त्य गर्न अघिल्लो संसद् पुनर्स्थापना क्रान्तिकारी कदम हुन सक्ने उनको भनाइ छ। सर्वोच्च अदालतमा विचाराधीन विषयमा असोज ६ र ७ को बैठकमा छलफल हुने पनि उनले बताए।
सरकारप्रति जनताको आक्रोश रहेको भन्दै बस्नेतले प्रधानमन्त्री शाहको सरकार जति लामो समय टिक्छ, देशले त्यति नै क्षति व्यहोर्ने चेतावनी दिए। जनताको आक्रोश रोक्न उनले शाहलाई राजीनामा दिन आग्रह गर्दै राजीनामा नभए संसद् पुनर्स्थापनालगायत विषय आन्दोलनको एजेन्डा बन्ने बताए।







