काठमाडौं । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ । सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र यसको नियन्त्रणका लागि विशेष कानुन बनाउने प्रतिबद्धता जनाएको छ ।
गत २५ असारमा धनुषाको जनकपुरस्थित तृतीयागाछीबाट सुरु भएको 'पैदल न्याय मार्च' बाराको निजगढ पुगेपछि ३२ असारमा गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो । सोहीअनुसार बिहीबार काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीडित पक्षको वार्ता टोलीबीच भएको छलफलपछि ९ बुँदे सहमति जुटेको हो ।
सहमतिका मुख्य बुँदा
सहमतिपत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्णउन्मूलनको प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने छ । प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेकजस्ता लिखत स्वतः अवैध र खारेज हुने उल्लेख छ ।
यस्तै, गृह मन्त्रालयले ३ महिनाभित्र मिटरब्याज नियन्त्रणसम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ । प्रस्तावित ऐनमा मिटरब्याजसम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीडितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ ।
राहत प्याकेज र अनुगमन
सहमतिअनुसार वडा कार्यालयमार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ । भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटरब्याजमा लगाउनेमाथि पनि कडा कानुनी कारबाही गरिने उल्लेख छ ।
मिटरब्याज पीडित पुनः ऋणको दुष्चक्रमा नपर्ने गरी वार्षिक बजेटमार्फत आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने प्रतिबद्धता पनि समेटिएको छ । पीडितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिनेछ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीडितका ३ प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फर्छ्योट गर्ने र अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने व्यवस्था गरिनेछ ।
सहमतिसँगै पीडितहरूले २५ असारदेखि सञ्चालन गर्दै आएको आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

