मुख्य सामग्रीमा जानुहोस्

भारी वर्षाको चेतावनीपछि कास्कीमा रात्रिकालीन सवारी रोक्न प्रशासनको आग्रह

कास्की प्रशासनले अति भारी वर्षाको सम्भावनाका कारण शनिबार र आइतबार रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ। बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
भारी वर्षाको चेतावनीपछि कास्कीमा रात्रिकालीन सवारी रोक्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेकाले रात्रिकालीन सवारी सञ्चालन नगर्न र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा प्रशासनले जरुरी सूचना जारी गर्दै सम्भावित बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि विभिन्न सावधानी अपनाउन अनुरोध गरेको हो । प्रशासनका अनुसार साउन २ र ३ गते मनसुन सक्रिय भई नेपालका मध्य तथा पश्चिमी भूभागमा भारी वर्षा हुने सम्भावना छ । कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र लामो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ ।

सवारी प्रतिबन्धको समयावधि

प्रशासनले जारी गरेको सूचनाअनुसार शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ६ बजेसम्म कास्कीबाट छुट्ने तथा कास्की भित्रिने रात्रिकालीन सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको छ । त्यसैगरी पोखराबाट ग्रामीण क्षेत्रमा जाने सवारीसाधन पनि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।

सुरक्षा सावधानी र आपतकालीन सम्पर्क

प्रशासनले नदी, खोला तथा खोल्साको किनारमा नजान, बाढी र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सर्न तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पूर्वानुमान र पूर्वसूचनालाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ । विपद् पूर्वतयारी तथा उद्धारमा संलग्न सबै निकायलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

विपद्सम्बन्धी कुनै घटना भएमा वा उद्धार सहायता आवश्यक परेमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बलको १११४ हटलाइन वा स्थानीय प्रशासन तथा जनप्रतिनिधिलाई तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।