जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। प्रशासनका प्रशासकीय अधिकृत पुष्पलाल धमालाका अनुसार शनिबार बेलुकी ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त प्रतिबन्ध लागू हुनेछ।
प्रतिबन्धित सडक खण्ड
प्रतिबन्धको अवधिमा भेडेटारदेखि रवि–राँके सडक खण्ड, तमोर कोरिडोरस्थित मुलघाटदेखि पाँचथर सिमाना तथा भेडेटारदेखि तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथर जाने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। भेडेटारबाट धनकुटातर्फ चल्ने सवारी साधन भने यथावत् सञ्चालन हुनेछन्।
सावधानी र विपद् पूर्वतयारी
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक नभए रातको समयमा घरबाट टाढा यात्रा नगर्न अनुरोध गरेको छ। साथै, खोला, खहरे, पहिरोको जोखिमयुक्त स्थान तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विपद्को पूर्वतयारीस्वरूप जिल्लास्थित तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई विपद् प्रतिकार्यअघि नै सुरक्षित स्थानमा सारिने बताइएको छ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार साउन २ र ३ गते धनकुटालगायत देशभरका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। धनकुटामा शनिबार साँझदेखि वर्षा भइरहेको छ।

