परराष्ट्र मन्त्रालयको भूमिकामा विश्वव्यापी रूपान्तरण भएको छ। एक पुस्तकमा यस विषयमा विस्तार चर्चा गरिएको छ। पुस्तकका अनुसार, देशभित्रका धेरै निकाय विदेशमा सम्पर्क र सम्बन्ध स्थापनामा तल्लीन हुँदा तिनलाई सहजीकरण गर्ने, राष्ट्रिय स्वार्थमा केन्द्रित गर्ने, दोहोरोपनको खतरा अन्त्य गर्ने र राष्ट्रिय नीति तथा धारणामा एकरूपता ल्याउने कामको महत्त्व बढेको छ। यो कार्य स्वाभाविक रूपमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार हो। यसरी वैदेशिक सम्बन्धमा परराष्ट्र मन्त्रालयको अन्तिम प्राधिकरणका रूपमा भूमिका र कार्यक्षेत्र दुवै वृद्धि भएको छ।
यस्ता बहस क्रमिक रूपमा परम्परागत कूटनीतिज्ञहरूको भूमिकाप्रति आलोचनात्मक हुँदै गएको देखिन्छ। एकातर्फ परराष्ट्र मन्त्रालय र विदेशी कूटनीतिक नियोगमा गर्नुपर्ने कामको प्रकृतिमै परिवर्तन आएको छ। यस सन्दर्भमा क्यानडाका पूर्वप्रधानमन्त्री पियरे ट्रुडोको एउटा प्रश्न उल्लेख गरिएको छ। उनले सोधेका थिए– यदि विदेशस्थित कूटनीतिज्ञहरूले पठाउने जानकारी मैले बिहानको अखबारमै पढिसकेको हुन्छ भने, उनीहरूलाई विदेशमा राख्न राज्यले किन ठूलो धनराशि खर्च गर्नुपर्छ? अर्थात्, सूचना प्रविधिको विकासले परम्परागत कूटनीतिको निरन्तरतामाथि प्रश्न खडा गरेको छ।
