सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गराउँदा अब नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा दर्ता भई इजाजत प्राप्त जुनसुकै चिकित्सकले जारी गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिइने भएको छ। यातायात व्यवस्था विभागले यससम्बन्धी निर्णय सातै प्रदेशको यातायात क्षेत्र हेर्ने मन्त्रालयलाई पत्राचार गरी कार्यान्वयन गर्न आग्रह गरेको छ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमानसिं राईले असार ३२ गते एक परिपत्र जारी गर्दै यो व्यवस्था लागू गर्न निर्देशन दिएका हुन्। परिपत्रमा भनिएको छ, 'सेवाग्राहीको अनावश्यक भिडभाड, आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिन्डिकेटजस्ता समस्या समाधानका लागि यो व्यवस्था लागू गरिएको हो।'
यसअघि स्वास्थ्य परीक्षणका लागि तोकिएका केही चिकित्सक मात्र मान्य हुने व्यवस्थाका कारण सेवाग्राहीले समस्या झेल्दै आएका थिए। नयाँ व्यवस्थाअनुसार एनएमसीबाट इजाजतपत्र प्राप्त जुनसुकै चिकित्सकले स्वास्थ्य प्रमाणपत्र दिन सक्ने भएपछि सेवाग्राहीले सहज रुपमा परीक्षण गराउन पाउने अपेक्षा गरिएको छ।
यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिललाई पनि पत्राचार गर्दै इजाजतपत्र प्राप्त चिकित्सकहरूको विवरण माग गरेको छ। साउन १ गते विभागले पठाएको पत्रमा एनएमसीमा दर्ता भएका सम्पूर्ण चिकित्सकको सूची माग गरिएको छ। यसले प्रमाणपत्रको वैधता सुनिश्चित गर्न मद्दत पुग्नेछ।
विभागले संघीय सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार यो परिपत्र जारी गरेको हो। उक्त निर्णय जेठ १३ गते भएको थियो। यस व्यवस्थाले स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने विश्वास गरिएको छ।
