मुख्य सामग्रीमा जानुहोस्

चिसापानी अस्पतालमा एन्टी स्नेक भेनम अभाव, बिरामी सदरमुकाम धाउन बाध्य

चिसापानी नगर अस्पतालमा एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पतालमा हाल १५ भेनम मात्रै रहेको र एक बिरामीलाई १० भेनम चाहिने भएकाले नयाँ बिरामी आएमा फिर्ता पठाउनुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ। सर्पदंशका घटना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानी नगर अस्पतालमा सर्पदंशविरुद्धको औषधि (एन्टी स्नेक भेनम) अभाव भएको छ। अस्पतालमा सर्पले टोकेर उपचारका लागि आउने बिरामीको संख्या बढे पनि औषधि अभावका कारण उनीहरू सदरमुकाम परासी वा जिल्ला बाहिर जान बाध्य छन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिषेक चापागाइँका अनुसार केही दिनदेखि एन्टी स्नेक भेनम अभाव भएको हो। उनले भने, ‘विषालु सर्पले टोकेका बिरामी आएमा फिर्ता पठाउनुपर्ने अवस्था छ। हाल अस्पतालमा १५ भेनम औषधि मात्र छ, जबकि एक बिरामीलाई नै १० भेनम दिनुपर्ने हुन्छ।’ प्रदेश स्वास्थ्य सेवा विभागमा औषधि माग गरिएको उनले जानकारी दिए।

सर्पदंशका घटना बढ्दै

सर्प उद्धारकर्ता दुर्गा लामिछानेका अनुसार अहिले सर्पदंशका घटना बढेका छन्। घरभित्र पसेका सर्प उद्धारका लागि दैनिक पाँचदेखि दस वटासम्म फोन आउने गरेको उनले बताए। शनिबार मात्रै बर्दघाट नगरपालिकामा एउटै घरबाट गोमन सर्पका ११ वटा बच्चाको उद्धार गरिएको थियो। लामिछानेले सर्पदंशका घटना बढ्दै जाँदा अस्पतालमा एन्टी स्नेक भेनम नहुँदा समस्या परेको र तत्काल प्रदेशबाट औषधि आपूर्ति गर्नुपर्ने आवश्यकता औंल्याए।

जिल्ला अस्पतालमा भने पर्याप्त

जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासीमा भने ४५ भेनम औषधि स्टक रहेको अस्पताल प्रमुख डा. वृजकुमार यादवले बताए। उनका अनुसार अस्पतालले २० भेनमभन्दा तल औषधि पुगेलगत्तै प्रदेशबाट थप ल्याउने गरेको छ। हाल सर्पदंशका बिरामीलाई उपचार गर्न कुनै समस्या नरहेको उनले स्पष्ट पारे।