मुख्य सामग्रीमा जानुहोस्

बाढी प्रभावित क्षेत्रमा तीज : राहत सामग्री पुगे पनि मनले पाएन राहत

भोटेकोशी नदीको बाढीले रसुवा र नुवाकोटका किनारका बस्ती, मानिस र चौपाया बगाएपछि यसवर्षको तीज प्रभावित क्षेत्रमा शोकको पर्व बन्यो। रातो साडी, पोते र सिन्दूरमा सजिएका महिला भेटिएनन्; आँसुले फुलेका आँखा, च्यातिएका लुगा र…

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बाढी प्रभावित क्षेत्रमा तीज : राहत सामग्री पुगे पनि मनले पाएन राहत
Online Khabar

नुवाकोट/रसुवा। भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनारका बस्ती, मानिस र चौपाया बगाएपछि यसपटकको तीज बाढी प्रभावित क्षेत्रमा शोक र पीडाको पर्व बन्यो। तीजको रमझम सामाजिक सञ्जालमा छाइरहँदा ती क्षेत्रमा भने रातो साडी, पोते, हरियो चुरा र सिन्दूरमा सजिएका महिला भेटिएनन्। भेटिए त आँसुले फुलेका राता आँखा, च्यातिएका धोती र फाटेका चोली लगाएका महिला मात्रै।

मानसिक स्वास्थ्य सेवामा करिब डेढ दशकदेखि खटिएका एक मनोविज्ञले बाढी प्रभावित क्षेत्रमा पुगेर गरेको अवलोकनमा देखिएको दृश्य यही हो। भदौ १० र ११ गतेको रात बाढीको त्रासदीका कारण देश तथा विदेशमा रहेका नेपालीका लागि निद्राविहीन बन्यो। काठमाडौंमा रहेर दुई दिनसम्म घटनाक्रम हेरिसकेपछि ती मनोविज्ञ नुवाकोटतर्फ लागे।

बाढी प्रभावित क्षेत्रमा पुग्दा सडक थिएन, पुल थिएन। बस्ती निलेको बगरमा डोजरहरू खोस्रिरहेका थिए भने आफन्त हराएकाहरू खोस्रिएको ठाउँतिर आँखा गाडेर कतै केही भेटिएला कि भनेर हेरिरहेका थिए। पारी तर्न तुइनको सहारा लिनुपर्‍यो, जहाँ दिनहुँ सयौं मानिसलाई वारि र पारि गराउने युवाहरूको हातभरि ठेला उठेको थियो।

दर खाने दिन बिहानै भाइले मिठाईको झोलाको फोटो पठाउँदै दिदी कतिबेला आउने भनी सोधे पनि ती मनोविज्ञ बजारको बसाइ छोडेर बाढी प्रभावित गाउँतर्फ नै अगाडि बढ्न रोजे। बाटोमा भेटिएका कसैका अनुहार उज्याला थिएनन्।

मनको घाउ

बाढीले सम्पूर्ण आफन्त गुमाएका एक शिक्षकले आफ्नो अनुभव सुनाउँदै भने — ‘मैले ५० वर्षको उमेरसम्म रक्सीको स्वाद कस्तो हुन्छ भन्ने जानेको थिइनँ, तर आजभोलि निदाउन रक्सी सेवन गर्न थालेको छु।’ तनाव भुलाउन रक्सी खानुपर्छ भन्ने होइन, तर तनाव व्यवस्थापनका अन्य विकल्प नथाहा पाउँदा मानिस रक्सीतिर लाग्ने गरेको मनोविज्ञको भनाइ छ। यसले दीर्घकालीन नशा बनाए बाढीबाट जोगिएको जीवनको भविष्य के हुने भन्ने चिन्ता पनि बढाएको छ।

आफन्त, चौपाया, घर, बारी, खेत, भित्रको अन्न, गहना र लत्ताकपडा सबै गुमाएर ज्यान जोगाएकाहरूको मानसिक अवस्था नजिकबाट नियालेको अनुभव ती मनोविज्ञसँग छ। यस्तो बेलामा पीडितका कुरा सुनेर, बुझेर र उनीहरूलाई सम्बन्धित निकायसँग जोडेर बाहेक अरू धेरै गर्न सकिँदैन भन्ने निष्कर्ष उनको छ।

झोला बोकेर दौडिने बालबालिका

बाढीपछि बालबालिकाको दैनिकी पनि बदलिएको छ। स्कुल ड्रेसमा झोला बोकेर बसेका छोराछोरीलाई देखेर सोध्दा एक आमाले भनिन् — ‘बाढी आएको दिनदेखि केटाकेटीले झोला राख्न र स्कुलको कपडा खोल्नै मान्दैनन्। केही आवाज आयो भने पनि ब्याग बोकेर दौडिहाल्छन्। धेरैपटक भनेँ, तर उनीहरूको दैनिकी नै यस्तै भइसकेको छ।’

ती आमाका आँखा फुलेका छन्, राता छन्। बाढीपछि उनले कहिल्यै राम्रोसँग निदाउन पाएकी छैनन्। ‘केहीबेर निदायो भने पनि झल्यास्स ब्यूँझिन्छु, कतै ड्वाङ् आवाज आयो भने जुरुक्क उठेर बारीको पाटोमा पुग्छु, वरिपरि हेरेर ढुक्क भएपछि मात्रै तल झर्छु,’ उनले भनिन्, ‘सपना नदेखेको धेरै रात भयो।’

खाद्यान्न र कपडालगायतका राहत सामग्री पाइरहे पनि ती आमा र उनीजस्तै धेरैको मनले भने राहत पाएको छैन। लक्षण फरक-फरक भए पनि मूल कारण एउटै रहेको पाइन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको पीडा समान छ। बिहान उज्यालो भएदेखि बेलुकी अबेरसम्म बगरतिर हेरेर आफन्तको सम्झनामा टोलाइरहेका मनहरू धेरै भेटिन्छन्।

राहतको लाइन र मनोसामाजिक सहयोग

अन्यत्र हिन्दु नारीहरू तीजको व्रत बसिरहेका बेला त्रिशूली र रसुवाका महिलाहरू भने पेट भर्ने खाद्यान्नको अभावमा राहतका लागि धोक्रो पट्याएर नाम्लो च्याप्दै दौडिरहेका थिए।

‘छिमेकको घरमा राहतको चाङ लागेको छ, तर मेरो घरमा खानेकुरा केही छैन, यस्तै अवस्था हुने हो भने भोको पेटले सम्बन्ध हेर्दैन,’ एक स्थानीयले आक्रोश पोखे। बाँचेका परिवार सदस्यका आधारमा समानुपातिक रूपमा राहत बाँड्नुपर्ने उनीहरूको माग छ। व्यवसाय, घर, पैसा, सुन र चाँदी सबै गुमाएर बाँच्नका लागि राहतको लाइनमा बस्नुपर्दा पोखिएको पीडा स्वाभाविक भएको मनोविज्ञको भनाइ छ।

महादेव क्याम्पस, त्रिशूली अस्पताल, सिलादेवी माध्यमिक विद्यालय, रणभुमी स्कुल र आयुर्वेदिक अस्पताललगायतका स्थानमा पुगेर स्थानीयका कुरा सुन्दा उनीहरू आफ्नो मन अलिकति हल्का भएको महसुस गर्ने गरेको पाइयो। हाँस्नै बिर्सिसकेकाहरूका अनुहारमा पनि मलिन भए पनि हाँसो देखिन थालेको थियो। जटिल मानसिक स्वास्थ्य समस्या भएकालाई सरकारले निःशुल्क परामर्श दिने नम्बर १११५ बारे पनि स्थानीयलाई बुझाइँदै थियो।

पीडितका अर्को गुनासो पनि छ। होल्डिङ सेन्टर र आसपासका सहज क्षेत्रमा आएर फोटो खिच्ने, तथ्यांक मात्रै संकलन गर्ने, अन्तर्वार्ता गर्ने, पीडा कोट्याउने र बालबालिकालाई काखमा राखेर फोटो खिची सामाजिक सञ्जालमा हाल्ने जस्ता आचरणबाट उनीहरू आजित भएको बताउँछन्। यस्ता गतिविधि नियन्त्रण गरेर बरु मानसिक स्वास्थ्य परामर्श र थेरापी दिन सुरु गर्नुपर्ने सुझाव मनोविज्ञको छ।

ब्रिदिङ, ग्राउन्डिङलगायत तनाव व्यवस्थापन थेरापीले प्रभावितलाई सहज अवस्थामा ल्याउन मद्दत गर्ने, केही थेरापी समूहमा गराउने र जटिल मानसिक स्वास्थ्य समस्या भएकालाई व्यक्तिगत परामर्श गर्दै आवश्यक परे रिफरल गर्नुपर्ने उनको भनाइ छ।

विद्यालय खुल्नुअघि नै विद्यार्थीलाई मानसिक रूपमा कसरी तयार बनाउने भन्ने चिन्ता शिक्षकलाई छ भने आफन्त र घरबास गुमाएका स्वास्थ्यकर्मीले अरूको उपचारसँगै आफ्नै मनको उपचार गर्नुपर्ने अवस्था छ। दैनिकी चलाउने मात्र होइन, गुमेका सबै बन्दोबस्तीको जोहो गर्ने चिन्ता अभिभावकलाई छ। क्षतविक्षत संरचनाको पुनर्निर्माण गर्नुपर्ने चासो सरकारलाई छ। यी चिन्ता घटाउन सरकार, मानसिक स्वास्थ्यकर्मी र संघसंस्था सबै एक भएर प्रतिफलमुखी योजनासँग अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।

तीज आयो र गयो, बाढी प्रभावितलाई भने छोएन। अब दशैं, तिहार र छठ आउँदैछन्। यी पर्वले उनीहरूलाई अलिअलि भए पनि छोएर खुसी पलाओस् र बाँच्ने तथा संघर्ष गर्ने हिम्मत बढाओस् भन्ने अपेक्षा छ। साना विद्यार्थी, व्यवसायी, कर्मचारी र विभिन्न संघसंस्थाले भोको पेट तत्काल भर्न दिएको सहयोगलाई सरकारले उचित सदुपयोग गर्ने आशा पनि राखिएको छ।