दोलखाको जिरीमा विद्यार्थी तथा शिक्षकमा इन्फ्लुएन्जा भाइरसको संक्रमण देखिन थालेपछि दुईवटा माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलका अनुसार ठूलोपाताल माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय बन्द गरिएका हुन् ।
विद्यार्थीमा उच्च ज्वरो र रुघाखोकी देखिएको तथा परीक्षण गरिएकामध्ये एक शिक्षिकामा कोभिड–१९ पोजिटिभ आएको मेयर जिरेलले जानकारी दिए । परीक्षण गरिएका सात विद्यार्थीमध्ये पाँच जनामा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको उनले बताए ।
आइसोलेसन र परीक्षण
संक्रमण देखिएकाहरूलाई हाल घरमै आइसोलेसनमा बस्न भनिएको छ । सोही वडाका अन्यमा पनि संक्रमण फैलिएको आशंका गरिएकाले शंकास्पद बिरामीको परीक्षण सुरु गरिएको मेयर जिरेलले बताए । धेरै जनामा संक्रमण फैलिन नदिन विद्यालय तत्काल बन्द गरी बिरामीलाई घरमै आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।
बिरामीको संख्या बढ्न सक्ने आकलन गरिएकाले उपचारका लागि सामुदायिक भवन र विद्यालय प्रयोग गर्ने व्यवस्था मिलाउने काम भइरहेको पनि उनले बताए ।







