मुख्य सामग्रीमा जानुहोस्

सरकारको नयाँ रणनीति : आरोग्य पर्यटनमार्फत आर्थिक रूपान्तरण

सरकारले नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन राष्ट्रिय आरोग्य पर्यटन रणनीति लागू गरेको छ । सन् २०३० सम्म कुल पर्यटकमध्ये ११ प्रतिशत आरोग्य पर्यटक बनाउने लक्ष्य राखिएको छ ।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउने रणनीति अघि सारेको छ । यसैक्रममा 'नेपाल वेलनेल इयर–२०२७' मनाउने तयारी थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले गरिने आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डा बनाइएको छ ।

वर्तमान सरकार गठन भएलगत्तै तयार पारिएको शासकीय सुधार कार्यसूचीमा नेपाललाई आरोग्य पर्यटनको हब बनाउने योजना समावेश थियो । सोहीअनुरूप 'राष्ट्रिय आरोग्य पर्यटन रणनीति' लागू गरिसकिएको मन्त्रालयले जनाएको छ । यसलाई सरकारले पहिलो सय दिनको उपलब्धिका रूपमा समेत उल्लेख गरेको छ ।

रणनीतिका मुख्य पक्ष

नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले पूर्वाधार विकास, अन्तरनिकाय समन्वय र विविध कार्यक्रम सञ्चालनको योजना बनाइएको छ । यसअन्तर्गत कोशी आसपास चतरा र बराह क्षेत्रका धार्मिक तथा बहुआयामिक सम्भावना भएका स्थानहरूको पहिचान भइसकेको छ । त्यस्तै, अपि, सैपाल, बडीमालिका, रारालगायत पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार र गन्तव्यको खाका तयार गरिएको मन्त्रालयले जनाएको छ ।

पोखरा र अन्नपूर्ण क्षेत्रलाई 'योग राजधानी' र प्रकृतिमा आधारित उपचार केन्द्रका रूपमा विकास गर्ने योजना छ । लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा मात्रै नभई आध्यात्मिक आरोग्य धामका रूपमा विकास गरिने र मठमा आधारित ध्यान तथा रिट्रिट कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

लक्ष्य र आकलन

सन् २०३० सम्म कुल पर्यटक आगमनमध्ये कम्तीमा ११ प्रतिशत आरोग्य पर्यटक बनाउने सरकारको लक्ष्य छ । विश्वव्यापी रूपमा आरोग्य पर्यटनले सन् २०३० सम्म विश्व पर्यटनको २० देखि २५ प्रतिशत हिस्सा ओगट्ने आकलन गरिएको छ । तर, आरोग्य पर्यटनमा नेपाल १४३ देशमध्ये ९१ औं स्थानमा छ ।

सरकारले पर्वतारोहण, पदयात्रा र सांस्कृतिक भ्रमणमा केन्द्रित पर्यटन क्षेत्रलाई विविधीकरण गर्दै आरोग्य पर्यटनलाई प्राथमिकता दिएको छ । यसले मौसमी पर्यटनलाई वर्षैभर सञ्चालन हुने र उच्च मूल्य सिर्जना गर्ने व्यवसायका रूपमा विकास गर्ने रणनीति छ ।

अन्य कार्यक्रम र समन्वय

यसअघि सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम लागू गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा सन् २०२३ मा पर्यटक १० लाख पुर्याउने लक्ष्य राखिएको थियो भने सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरिएको छ । 'नेपाल घुमौं, नेपाल चिनौं' अभियान पनि सञ्चालन गरिएको थियो । पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतले वृद्धि गरी सन् २०३२ सम्ममा ३५ लाख पुर्याउने र थप १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत पुर्याउने योजना छ ।

सरकारले 'देवभूमि नेपाल' राष्ट्रिय अभियान सञ्चालन गरी धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गर्ने नीति लिएको छ । आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने उल्लेख छ ।

आरोग्य पर्यटनको प्रवर्द्धनका लागि सरोकारवाला निकायको सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ । नेपालको मौलिकता र पहिचान जोगाउँदै आरोग्य पर्यटनमार्फत समृद्धिको नयाँ आधार तयार पार्नुपर्नेमा जोड दिइएको छ ।